कपिलवस्तु- कपिलवस्तुको विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी एक महिलाले ट्र्याक्टरमा नै बच्चा जन्माएकी छन् ।
सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याउने क्रममा उनले ट्र्याक्टरमा नै बच्चा जन्माएकी हुन् । शनिबार बिहान विजयनगर गाउँपालिका–५ कटुवा गाउँकी उर्मिला कोइरी सुत्केरी ब्यथाले छट्पटाएपछि परिवारले घरमा रहेको लु३त २४४८ नंको ट्र्याक्टरमा राखेर चन्द्रौटा ल्याउँदा उनले ट्र्याक्टरमा नै छोरा जन्माएकी हुन् । विजयनगर गाउँपालिकामा एम्बुलेन्स सेवा उपलब्ध छैन् ।
गर्भवती महिला त्यो पनि सुत्केरी व्यथाले च्यापेको अवस्थमा ट्र्याक्टरमा उफार्दै करिब १५ किलोमिटरको दूरी पार गरी उर्मिलालाई चन्द्रौटा ल्याउँदै गर्दा बच्चा जन्मिएको हो । चन्द्रौटा होटलअगाडि बीच सहरमा उर्मिलालाई व्यथाले च्यापेपछि बच्चा जन्मिएको हो ।
बिहान १० बजे बच्चा जन्मेपछि अस्पताल नै नपुगी घर फर्किन लागेको उर्मिलाका सासू कमलावती कोरीले बताइन् । गाउँमा एम्बुलेन्स नहुँदा ट्र्याक्टरमा ल्याउँदा यो जाडोयाममा बच्चा जन्मिएको उनले बताइन् ।
गाउँपालिकामा गतिलो स्वास्थ्य संस्था नभएकाले आफूहरुले डेलिभरी गराउन शिवराज नगरपालिकाको चन्द्रौटामा ल्याउनुपरेको परिवारले बताएका छन् । “गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरिद नगर्दाको आफूजस्तै गाउँपालिकाका अरु बासिन्दाले पनि पीडा भोगिरहेका छन्”, स्थानीवासी कलम कोरीले भने, “भगवान्को कृपाले मेरो बुहारी र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ नत्र यस्तो समस्यामा जे पनि हुनसक्थ्यो ।”
स्थानीय तहले एम्बुलेन्सका लागि कुनै पहल नगर्दा समस्या भएको उनको भनाइ छ ।
यता विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र सञ्चालनका लागि प्रयास र पहल भने नगरेको होइन । यो आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले रु १५ लाख बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । यो वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने दुईवटा एम्बुलेन्स सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।