चितवन- चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदेश प्रहरी कार्यालय हेटौँडाले १२ घन्टाभित्र रमाना हुन दिएको निर्देशनको अवज्ञा गरेका छन् ।
बुधबार बिहान प्रदेश ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई सम्बोधन गरी पठाएको पत्रमा १२ घन्टाभित्र रमाना हुन निर्देशन दिएको थियो । तर, एसपी मल्लले प्रदेशको निर्देशनलाई अटेरी गर्दै जिल्लाका नियमित कार्यक्रममा देखिएका छन् ।
एसपी मल्लले सरुवा हुन निर्देशन भएको १३ दिनसम्म पनि जिल्ला छाड्न आनाकानी गरेपछि प्रदेश प्रहरी कार्यालयले सो निर्देशन दिनुपरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलद्वारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयद्वारा जारी गरिएको निर्देशनमा ‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घन्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन हुन निर्देशानुसार अनुरोध’ गरिएको छ ।

उनीे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको १३ दिनसम्म जिल्ला नछाडेपछि चितवनमा सरुवा गरिएकी गंगा पन्तले जिम्मेवारी सम्हाल्न पाएकी छैनन् ।
पूर्वी चितवनको रत्ननगर–५ स्थित टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न आएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाका लागि एसपी मल्ल कार्यक्रमस्थलमा पुगेका थिए । जबकि उनी आज साँझसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्ने थियो । विगतमा उनी प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृतका रुपमा काम गरेका थिए ।
प्रचण्डसँगको विशेष सम्बन्धका कारण उनी डीएसपी हुँदा आकर्षक मानिने काठमाडौँको दरबारमार्गस्थित प्रहरी वृत्तको नेतृत्व गर्ने अवसरसमेत प्राप्त गरेका थिए ।
मल्ल समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै तत्काल जिल्ला नछाड्ने मनस्थितिमा छन् । चितवनलाई प्रहरी संगठनभित्र आकर्षक र कमाउ जिल्लाको रुपमा हेर्ने गरिन्छ ।
नेकपा अध्यक्ष प्रचण्डसँगको विशेष पात्र भएकै कारण उनी प्रदेश कार्यालयको निर्देशन अटेर गरेको हुनसक्ने आँकलन गरिएको छ । यद्यपि नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने सरुवाको पूर्वसूचीमा कुनै परिवर्तन नभएको जिकिर गरेका छन् ।
निर्देशन नमान्ने प्रहरी प्रमुखलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ला या पहुँचका आधारमा उनको सरुवा रोकिएला त्यो भने हेर्न बाँकी छ ।
यो पनि पढौँ :
चितवनका एसपी मल्ललाई १२ घन्टाभित्र रमाना हुन प्रदेश प्रहरी कार्यालयको निर्देशन

तपाईको प्रतिक्रिया