काठमाडौँ- बुधबार त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचको विषयमा महिला प्रहरीमाथि दुर्व्यवहार गरेपछि गायिका आस्था राउतविरुद्ध प्रहरीले अभद्र व्यवहारअन्तर्गत काठमाडौँ प्रहरी परिसरमा मुद्दा दर्ता गरेको छ ।
परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीका अनुसार अब जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी हुनेछ । अभद्र व्यवहारमा २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न र एक वर्षसम्म जेल सजायको व्यवस्था गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई रहेको एसएसपी सुवेदीले बताए ।

गायिका राउत भारत जाने क्रममा झापाको उडान भर्ने बेला त्रिभुवन विमानस्थलमा जाँचका क्रममा प्रहरीले आफूलाई हातपातसहित दुर्व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जालबाट प्रहरीलाई गालीगलौज गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । जुन भाइरल र विवादित भएको थियो ।

विमानस्थलमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो । गायिका आस्था यतिबेला भारतमै रहेको र उनलाई पक्राउ गरी कारबाही गर्ने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया