गैँडाकोट । गैँडाकोटको नारायणी नदीकिनारमा तेस्रो गैँडाकोट महोत्सव जारी छ । महोत्सवमा दर्शकको आकर्षण बनेका छन् रसियन कलाकार । उनीहरुको नौलो र विचित्रको नृत्यकलाबाट दर्शकको भीड लागेको छ ।
चौँथो दिन शनिबार ४० हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरे । शनिबार परेकाले दर्शकको उपस्थिति उल्लेख्य रहेको महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरले जनाएको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो रहेको संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उप समिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
उनका अनुसार शनिबार राष्ट्रिय लोक तथा दोहोरी गायक प्रजापति पराजुली, शशांक कँडेल, सिजु अधिकारीलगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । दर्शक भने रसियन कलाकारहरुको प्रस्तुतिले लोभिएका थिए ।
उनीहरुले नेपाली तथा हिन्दी गीतमा आफ्नो प्रस्तुति राख्दा आँखा नै नहटाइ एकोहोरो मोहित भएका थिए । अधिकांश दर्शकलाई मोबाइलबाट भिडियो खिच्न भ्याइनभ्याइ थियो ।
महोत्सवको साँस्कृतिक कार्यक्रम र कलात्मक प्रवेशद्वारले गर्दा दर्शकको आकर्षण बढेको छ । दर्शकलाई बुर्ज अल अरब दुबई (सेल्फी जोन) र लण्डन ब्रीज आकारको कलात्मक प्रवेशद्वारमा फोटो खिच्न पनि भ्याइनभ्याइ भएको छ ।
महोत्सवस्थलमा कृषिका ४० वटा स्टल, विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घरसहित उद्योग, वाणिज्य, व्यावसायिक तथा पर्यटनसम्बन्धी ३५० भन्दा बढी स्टल रहेको उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।

तपाईको प्रतिक्रिया