गैँडाकोट- तेस्रो गैँडाकोट महोत्सवअन्तर्गत आइतबार रमेशराज भट्टराई र बालगायिका कमला घिमिरेले प्रस्तुति राखेका छन् ।
महोत्सवमा गायक भट्टराईले बेहुला बनाउँछु भन्थी बहुला बनाएर गईसहितका आफ्ना चर्चित गीतहरु गाएका थिए । त्यस्तै घिमिरेले चिया छानेको गीत गाएकी थिइन् ।
त्यसैगरी, यम आले मगर, अस्मिता घर्ती, गैँडाकोट डान्स आइडलका कलाकारहरुले प्रस्तुति राखेका छन् । उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा माघ १५ देखि सुरु भएको तेस्रो गैँडाकोट महोत्सवमा सोमबार पशुपति शर्मा, अमर विरही गुरुङसहितका कलाकारहरुले प्रस्तुति राख्ने महोत्सवका साँस्कृतिक संयोजक नवराज कँडेलले बताए ।
आइतबारमात्रै २० हजार दर्शकले महोत्सव अवलोकन गरेका गैँडाकोट महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार आइतबार समेत रसियन कलाकारहरुले प्रस्तुति राखेका छन् । महोत्सवको साँस्कृतिक कार्यक्रम, बुर्ज अल अरब दुबई (सेल्फी जोन)मा दर्शकको आकर्षण बढेको सापकोटाले जानकारी दिए । महोत्सव स्थलबाट नारायणी नदीमा र्याफ्टिङको समेत व्यवस्था गरिएको सापकोटाले बताए ।
महोत्सवमा आइतबार नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तिलक महत प्रमुख अतिथि, गैँडाकोट नगर प्रमुख छत्रराज पौडेल विशिष्ठ अतिथि, देवचुली नगरपाकिलाकी उपप्रमुख पार्वता तिवारीसहितका अतिथिहरु सहभागी थिए ।