
नवलपरासी- उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरको आयोजनामा गैँडाकोटको नारायणी नदीकिनारमा सुरु भएको तेस्रो गैँडाकोट महोत्सवको आठौँ दिन १५ हजारभन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । नारायणी बुधबार लोकप्रिय गायक प्रमोद खरेलले आफ्ना चर्चित गीतहरु गायका थिए । दर्शकहरुको हुटिङबाट उत्साहित हुँदै खरेलले आफ्ना चर्चित आधा दर्जनभन्दा बढी गीतहरु गाएका महोत्सवको साँस्कृतिक संयोजक नवराज कँडेलले जानकारी दिए ।
कँडेलका अनुसार बिहीबारको कार्यक्रममा गायिका आस्था राउतसहित अन्य स्थानीय कलाकाहरुको प्रस्तुति रहनेछ । महोत्सवका आर्थिक तथा प्रचारप्रसार उपसमिति संयोजक एवम् उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका कोषाध्यक्ष शालिकराम सापकोटाले महोत्सवमा दर्शकहरुको आकर्षण बढ्दो रहेको जानकारी दिए ।
टिकट काटेर महोत्वस अवलोकन गर्ने दर्शकहरुलाई डाबर नेपालसँग सहकार्य अम्बाको जुस खुवाउने व्यवस्था मिलाइएको सापकोटाले जानकारी दिए । महोत्सवको आकर्षणको रुपमा नारायणी नदीमा ¥याफ्टिङ, लण्डन ब्रीज आकारको प्रवेश द्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन)लगायतका रहेका सापकोटाले बताए । महोत्सवमा बुधबार प्रमुख अतिथिको रुपमा उपस्थित गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहा मगरले गैँडाकोट महोत्सव समग्र नवलपुरकै विशेषता बन्दै गएको बताए ।
गैँडाकोट महोत्सवले जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने मगरको भनाइ थियो । तेस्रो गैँडाकोट महोत्सवमा थारु, गुरुङ, थकालीसहित विभिन्न जातजातिका नौ वटा साँस्कृतिक घर, उद्योग, वाणिज्य, व्यवसायिक तथा पर्यटन सम्बन्धी तीन सय ५० भन्दा बढी स्टलका साथै बाल उद्यान समेत रहेका उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।
भट्टचनका अनुसार स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले महोत्सवका सबै सबै स्टलहरु बाँसबाट निर्माण गरिएका छन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत महोत्सवले थप ऊर्जा प्रदान गर्नेे भट्टचनले बताए । गैँडाकोट महोत्सवका सचिवालय संयोजक एवम् उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छविलाल कँडेलले महोत्सव सफल पार्न विभिन्न २२ वटा उप समिति गठन गरिएको बताए ।
महोत्सव अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उल्लेख गर्दै कँडेलले विद्यार्थी तथा समूहमा जानेका लागि विशेष सहुलियत प्रदान गरिएको जानकारी दिएका छन् ।
माघ १५ गतेदेखि सुरु भएको गैँडाकोट महोत्सव माघ २६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ४० करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ ।