गैँडाकोट- गैँडाकोटस्थित नारायणी नदीकिनारमा सञ्चालित तेस्रो गैँडाकोट महोत्सव एक दिन थप गरिएको छ । माघ १५ देखि सुरू भएको महोत्सव माघ २७ गतेसम्म सञ्चालन हुनेगरी एक दिन थपिएको उद्योग वाणिज्य संघ गैँडाकोट नवलपुरका अध्यक्ष एवम् महोत्सवका मूल संयोजक अमृत भट्टचनले जानकारी दिए ।
दर्शकहरुको चाप र चाहनाका कारण महोत्सव एक दिन थप गरिएको भट्टचनको भनाइ छ । यसअघि माघ २६ गते महोत्सव समापन गर्ने आयोजकले जनाएको थियो । पछिल्लो समय महोत्सवमा दर्शकको चाप बढ्दै गएको र अझै थप गर्नुपर्ने अवलोकनकर्ताहरुको आग्रहलाई मध्यनजर गर्दै एक दिन थपिएको भट्टचनले बताए ।
माघ २७ गते नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले महोत्सवको समापन गर्ने संघका कोषाध्यक्ष एवम् महोत्सवका आर्थिक तथा प्रचार प्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले जानकारी दिए ।
जिल्ला उद्योग वाणिज्य संघ नवलपुरको आयोजनामा ‘नवलपुरको आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैँडाकोट महोत्सव–२०७६’ भन्ने मूल नाराका साथ तेस्रो गैँडाकोट महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा प्रमुख आकर्षणको रुपमा लण्डन ब्रीज आकारको प्रवेशद्वार, बुर्ज अल अरब दुबई (सेल्फी जोन), नारायणी नदीमा ¥याफ्टिङ तथा रसियन कलाकारको बेली डान्सलगायत रहेका छन् ।
शनिबार ५० हजार बढी दर्शक
महोत्सवमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढी दर्शकहरु उपस्थित भएका छन् । शनिबारमात्रै ५० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका आयोजकले जनाएको छ ।
महोत्सवमा आइतबार प्रकाश सपूत तथा स्थानीय कलाकारको प्रस्तुति रहने छ भने रसियन कलाकारहरुले आफ्ना डान्स प्रस्तुत गर्नेछन् ।

तपाईको प्रतिक्रिया