काठमाडौँ- पर्यटन व्यवसायी विनोद सापकोटाद्धारा निर्मित चलचित्र ‘लभ डायरिज’ ले पर्यटन क्षेत्रको साख वृद्धि गरेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
राजधानीको गोकर्ण रिसोर्टमा आयोजित आइतबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक कार्यक्रममा पर्यटन व्यवसायीहरुले सो चलचित्रले पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने विचार व्यक्त गरेका हुन् ।
सुशील श्रेष्ठ, रुविना थापा र विश्वजित रिमाल अभिनीत सो चलचित्रको बारेमा जानकारी दिन आयोजित पत्रकार भेटमा निर्माता विनोद सापकोटाले सम्पूर्ण ट्राभल ट्रेडमा आवद्ध व्यावसायी तथा शुभचिन्तकहरुलाई हलमा उपस्थित भएर आफू र आफ्नो टिमको हौसला प्रदान गरिदिन अनुरोध गरेका छन् ।
विनोद पर्यटन क्षेत्रकै नक्षत्रका रुपमा बहुप्रतिभाशाली व्यक्तित्व रहेको भन्दै पर्यटन व्यावसायीहरुले उनको तारिफ गर्दै पर्यटन क्षेत्रको तर्फबाट चलचित्र निर्माता बनेका सापकोटा समग्र पर्यटन क्षेत्रकै गौरव भएको बताएका छन् ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले आफू ‘लभ डायरिज २’ मा बुबाको भूमिकामा खेल्न आतुर रहेको बताएका छन् ।
पर्यटन व्यवसायी केशव पाण्डेले ‘लभ डायरिज’ ले सम्पूर्ण पर्यटन जगतलाई समेटेको भन्दै यस्तो चलचित्र सिक्वेलकै रुपमा निर्माण हुनुपर्ने बताए । उनले ‘लभ डायरिज’को सफलताको कामना गर्दै ‘लभ डायरिज २’ पनि बन्नुपर्ने बताए ।
युवा पर्यटन व्यावसायी तथा टानका पूर्वकोषाध्यक्ष अञ्जन थापा (कुमार) ले नेपाली फिल्म पछिल्लो समय निकै राम्रो बनेको अनुभव गरेको बताउँदै आफू ‘लभ डायरिज’ हेनै आतुर रहेको बताए । नेपाली चलचित्रलाई माया गर्ने सम्पूर्णले हलसम्म पुगेर चलचित्र हेरेर प्रतिभाको सम्मान गर्न आग्रह गरेका छन् ।
फेब्रुअरी १४, भ्यालेन्टाइन डेका दिनबाट नेपाल अधिराज्यभरका चलचित्र भवन र अष्ट्रेलियाको मेलबर्नमा समेत एकसाथ रिलिज हुने यो फिल्म त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्माताको भनाइ छ । सौरभ चौधरीले निर्देशन गरेको चलचित्रमा साहिल खान एसोसियट डिरेक्टरका रुपमा रहेका छन् ।














