काठमाडौं, २ फागुन, प्रणय उत्सबको अबसर पारेर चलचित्र ‘नीरफूल’को नयाँ गीत दर्शकमाझ आएको छ । चलचित्र नीरफूलको ‘तिमी बदनामी…’ गीतको भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक गरिएको हो । गीतमा कुनै एक डान्स बारमा अभिनेत्री थापाले गीत गाएको दृष्य यसमा प्रस्तुत गरिएको छ । नायिकासँगै गायिकाको परिचय बनाएकी रेखा थापाले यो चलचित्रमा बार सिंगरकै भूमिका निर्वाह गरेकी हुन् । जसमा चलचित्रकी अभिनेत्री शान्ति वाईवा भूकम्पपछि जीवन यापनका लागि डान्सबारमा काम गर्न बाध्य भएको दृष्यहरुबाट बुझिन्छ ।

यो गीतको सँगीत अर्जुन पोखरेलले गरेका हुन् । दुर्गा खरेलले गाएको यो गीतलाई चलचित्र निर्देशक फूलमान वल आफैंले लेखेका हुन् ।
चलचित्र नीरफूल आगामी ३० फागूनमा रिलिज हुँदैछ । यो गीतले चलचित्रको कथाको एउटा पाटो बोकेको देखिन्छ । आईटम गीत भन्दा फिल्मको पात्रको संघर्ष र उनीमाथि हुने हिंसा दर्शाउने गीत भएको निर्देशक वलले जानकारी गराएका छन् ।

फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको निर्देशक वलले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् । निर्माताको रुपमा बेलायतबाट दिपक श्रेष्ठ, कतारबाट माया केसी, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।

तपाईको प्रतिक्रिया