काठमाडौँ । नेपाली कथानक चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको छ। हाल पोष्टप्रोडक्सनको अधिकांश कार्य सम्पन्न भैसकेको रिलिज डेट तोकिएर गीत सार्वजनिक गर्ने तरखरमा रहेको चलचित्र कैदीको–पत्रको फस्टलुक सार्वजनिक भएको हो।
बेलायतमा रहेका वरिष्ठ रंगकर्मी तथा अभिनेता सनमकुमार बैरागको निर्देशनमा चलचित्र कैदीको–पत्र बनेको हो। चलचित्र कैदीको–पत्र बेलायतमा नै आफ्नो जीवन समर्पित गरेका नेपाली साहित्यकार स्वर्गीय ईश्वर मानन्धरको कथासंग्रह कैदीको–पत्रमा आधारित चलचित्र कैदीको–पत्रको सम्पूर्ण छायांकन बेलायतको स्कटल्याण्डमा सम्पन्न भएको हो।
४० दिनमा छायांकन सम्पन्न भएको यस चलचित्रमा बेलायतमा नै रहेका नेपाली तथा विदेशी कलाकारहरुले अभिनय गरेको जानकारी निर्देशक बैरागले दिएका छन्।
चलचित्र कैदीको–पत्रमा ३५ प्रतिशतभन्दा बढी अंग्रेजी भाषा रहेको छ। युवा पुस्ताको वर्तमान फिल्मी चासोलाई मध्यनजर गरेर चलचित्रको कथावस्तुअनुरुप अंग्रेजी भाषालाई पनि प्राथमिकता दिएको निर्देशक बैरागको भनाइ छ।
भिजन संसार प्रालिको व्यानरमा निर्माण अनि निर्देशक बैरागकै गीत, पटकथा तथा संवाद रहेको यस चलचित्रमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गावहादुर सुवेदीको समेत अभिनय रहेको छ।
म्याडिसन लाजारस, कुनाल विश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स, सुबर्ण थापा, चरण प्रधान, मनिष कुमार श्रेष्ठ, सुस्मिता थापालगायतका कलाकारहरुको विशेष अभिनय रहेको छ।

तपाईको प्रतिक्रिया