-अजित अधिकारी
वीरगञ्ज । वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोनाका संक्रमित बिरामी मुक्त भएसँगै आइतबारदेखि डायलासिस सेवा सुचारु गरिएको छ ।

विगत दस दिनअघि नारायणी अस्पतालमा रहेका सम्पूर्ण कोरोना संक्रमित डिस्चार्ज भएसँगै अस्पताललाई सेनेटाइज गरी पूर्णरुपमा विसंक्रमित तथा निर्मलीकरण गरिएसँगै बहिरंग सेवाअन्तर्गत डायलासिस सेवा सुचारु गरिएको हो ।

अस्पतालले विज्ञप्ति जारी गर्दै गत गत वैशाख २ गतेबाट अवरुद्ध भएको डायलासिस सेवा सुचारु गरिएको जनाएको हो । यस्तै, अस्पतालले ओपिडी अर्थात बहिरंग सेवा पनि क्रमिकरुपमा सञ्चालन गर्ने जनाएको छ ।

सामाजिक दूरी कायम गरी पहिला हरेक विभागमा बढीमा २५ जना बिरामी मात्रको उपचार गर्ने बहिरंग सेवा सञ्चालन गरिने नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए ।

विगतमा संक्रमितको उपचार हुँदै आएको नारायणी अस्पताल कोभिडबाट साधारण अस्पतालमा परिणत भएको नेपालकै पहिलो अस्पताल हुन पुगेकोसमेत मेडिकल सुपरिटेन्डेन्ट डा उपाध्यायले दाबी गरे ।

सो अस्पतालमा साधारण सेवाहरु सञ्चालनका लागि अझै पनि आवश्यक सरसफाइ, निर्मलीकरण र अन्य आवश्यक कार्यहरु तीव्ररुपमा भइरहेको डा उपाध्यायले जानाकारी दिए ।

अस्पतालले प्रदान गर्ने प्रसूति, सर्जरीलगायतका अन्तरंग सेवा सुचारु हुन अझै केही समय लाग्ने र आकस्मिक सेवा पछि उपचारका लागि अस्पतालमा भर्ना हुनका लागि अझै केही दिन लाग्ने हुँदा बिरामीलाई भर्नाका लागि बाहिर पठाउनुपर्ने बाध्यता रहेको डा उपाध्यायले बताए ।

तपाईको प्रतिक्रिया