नयाँ दिल्ली । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घन्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख १० हजार ७९५ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

भारतमा गत २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ८५७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३९ हजार ८५६ जना पुगेको छ ।

सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये बाह्र लाख ८२ हजार ९२९ व्यक्ति निको भएर फर्किएका छन् । भारतमा मङ्गलबार कोरोना भाइरस निको हुने क्रम ६६.३० प्रतिशतले बढेको पाइएको छ । हाल भारतमा पाँच लाख ८८ हजार १० जना कोरोना भाइरस सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतको महाराष्ट्र सबभन्दा प्रभावित बढी कोरोना भाइरस सङ्क्रमण राज्यका रुपमा रहेको छ । कोरोना भाइरस प्रभावित भारतको दोस्रो राज्य तमिलनाडू र तेस्रोमा राजधानी सहरसमेत रहेको दिल्ली राज्य रहेको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया