पेरिस । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५७ लाख ३४ हजार ३०६ पुगेको छ ।

गत डिसेम्बरदेखि बुधबार रातिसम्ममा निको हुनेको संख्या विश्वभर २४ लाख ६६ हजार १७५ पुगेको सम्बन्धित देशका सरकार र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अहिलेसम्म विश्वभर तीन लाख ५४ हजार ८६ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घन्टामा विश्वभर ४०४८ व्यक्तिको मृत्यु भएको छ ।

सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ३३ हजार ५३० रहेका छन् भने ब्राजिलमा तीन लाख ९४ हजार ५०७, रूसमा तीन लाख ७० हजार ६८०, स्पेनमा दुई लाख ८३ हजार ३३९, बेलायतमा दुई लाख ६७ हजार २४० र इटलीमा दुई लाख ३१ हजार १३९ सङ्क्रमित रहेका छन् ।

सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या १ लाख १ हजार १४ रहेको छ । त्यसैगरी बेलायतमा ३७ हजार ४६०, इटलीमा ३३ हजार ७२, स्पेनमा २७ हजार ११७, फ्रान्समा २८ हजार ५३० र ब्राजिलमा २४ हजार ६०० सङ्क्रमितको मृत्यु भएको छ ।

सङ्क्रमित धेरै भएर पनि कम मृत्यु भएका देशहरूमा रूस अग्रस्थानमा रहेको छ भने जर्मनी, टर्की, भारत, इरान र पेरू रहेका छन् । यी मुलुकबाहेकका देशमा सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम रहेको छ ।

टर्की, भारत, इरानमा एक लाखभन्दा बढी सङ्क्रमित भएका मुलुकहरू हुन् । चीन, साउदी अरब, पाकिस्तान, कतार, बंगलादेश सिंगापुर, संयुक्त राज्य इमिरेट्स, इन्डोनेसिया र कुबेतमा सङ्क्रमणका कारण बढी प्रभावित मुलुक हुन् । एएफपीको सहयोगमा

तपाईको प्रतिक्रिया