महेश पाण्डे
चितवन । चितवनका कुखुरामा फेरि एच नाईन भाईरसको समस्या देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो । एचनाईन एभियन इन्फ्लुएन्जालाई बर्ड बर्डफ्लूको सुरुवाती चरणको रुपमा लिने गरिन्छ । तर यो भाईरसबाट मानिसमा कुनै संक्रमण नहुने पशु चिकित्सक योगेन्द्र नाग पन्तले नेपालीको आवाज डटलाई जानकारी दिए ।
पन्तका अनुशार चिसो मौसममा तापक्रम ब्यवस्थापन नहुनु, पहिला एच नाईन लागेका खोरको सरसफाई राम्रोसंग नहुनु, जैबिक शुरक्षामा ध्यान नदिनु लगाएतका कारणले यो रोग सर्ने सम्भावना बढि हुनेगर्दछ । एच नाईन एभियन इन्फ्लुएन्जा एउटा बर्डफ्लुको स्वरुप मात्र भएको र यो रोग विशेषगरी चरा प्रजातिबाट फैलिने पन्तले जानकारी दिए । संक्रमित वा मरेको कुखुराको सम्पर्कमा रहँदा मानिसलाई सर्ने खतरा हुन्छ । तर, एभियन इन्फ्लुएन्जा भाईरस मानिसमा संक्रमण नहुने पन्त बताउछन् ।
राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालाका सुचना अधिकारी तथा पशु चिकित्सक इन्दुराय यादवका अनुशार कुखुराको परिक्षण गर्दा एभियन इन्फ्लुएन्जा भएको पुष्टि भएको बताए । उनले भरतपुर महानगरपालिका ८ गौरिगञ्ज र रत्नगरनरपालिकाको १३ मा रहेको दुई वटा पोल्ट्री फर्मका कुखुरामा बर्डफ्लूको शंकालागेर कात्तिक चार गते रेपिड टेष्ट (एन.डि.आई.वि.डि र ए.आई) गर्न काठमाण्डौमा रहेको सेन्ट्रल भेटेनेरेरी ल्याब्रोटरी पठाएकोमा परिक्षण गर्दा एभियन इन्फ्लुएन्जा भएको पुष्टि भएको बताए । अहिले एभियन इन्फ्लुएन्जा देखा परेको स्थानमा समस्याको सामधान भईसकेको जानकारी दिए । तर उता कुखुरा नष्ट गरे नगरेको विषय भने अहिले सम्म खुलाईएको छैन ।
बिशेष गरि एच नाईन इन्फ्लुएन्जा लगेपछि कुखुराहरु झोक्राउदै मर्ने गर्दछन् । अझ बिशेषत जाडो मौसममा विभिन्न रोगहरु देखा पर्ने भएकाले किसानहरुले चिकित्सकहरुको सल्लाह अनुसार कुखुरा पालन गर्नुपर्ने राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशालाका प्रमुख बरिष्ठ पशुचिकित्सक चेतनारायण खरेल बताउछन । उनले चिसो मौसममा कुखुराको तापक्रम व्यवस्थापन गर्नुपर्ने यदि त्यसो नगरेमा तापक्रम नमिलेकै कारण श्वासप्रसासमा समस्या हुने र रोगहरु पनि बढि बढिलाग्ने भएकाले यस्तो अवस्थामा एच नाईन जस्ता रोगहरु पनि देखापर्न सक्ने बताए । व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्न नहुने उनले बताए । चितवनमा दैनिक १५ देखि २० वटा कुखुरा पोष्टमाटमका लागि ल्याउने गरिन्छ । यहाँ चितवन सहित मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, तनहुँ, लम्जुङबाट कुखुराहरु परिक्षणका लागि ल्याउने गरिन्छ ।
गत वर्ष पनि चितवनमा कुखुरामा एभियन इन्फ्लुएन्जा रोगकै कारण थुप्रै कुखुराहरु मरेका थिए । कुखुरा पालनमा सबैभन्दा ठुलो कुरा जैविक सुरक्षानै भएकाले खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउने, चल्ला र दाना विक्रि गर्दा स्वास्थ्य प्रमाणित भएनभएको परिक्षण हेरेर मात्र किन्नुपर्ने अर्का पशु चिकित्सक निमेश खनाल बताउछन् । विशेष गरि फागुन महिनाबाट बर्डफ्लु देखा पर्ने भएपनि चितवनमा कात्तिकमै देखिएकाले किसानहरु सचेत हुनुपर्ने उनको भनाई छ । एच नाईन भाईरस चितवनमा रैथाने जस्तै भएको उनले बताए ।
एच नाईन लगाएतका भाईरसहरु विशेष गरी कुखुराको मासु, प्वाँख, सिंगान, र्याल, सूली, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट सर्दछन । त्यसैले यदि यी यस्ता रोग लागेमा ती सामाग्रीहरु नष्ट गर्नुनै सबैभन्दा उपयुक्त बिकल्प रहेको छ ।