चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका वृद्धको पिसिआर परीक्षणमा कोरोना ‘नेगेटिभ’ देखिएको छ ।

रुपन्देहीको लुम्बिनी सिटी अस्पतालबाट रिफर भई आएका रामग्राम ५ नवलपरासीका ४८ वर्षीय पुरूषको भरतपुर अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको थियो । निमोनियाका कारण मृत्यु भएका भनिएका उनमा कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा रिपोर्टमा कोरोना नदेखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यसैबीच, आरडिटी प्रविधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ आएका रत्ननगरका तीन जनासहित चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
भारतबाट आएर रत्ननगरको बकुलहरमा क्वारेन्टाइनमा बसेका धादिङका एक युवा, रत्ननगर बस्दै आएकी महिला प्रहरी, तरकारी ओसार्ने गाडीका चालक रत्ननगर–२ निवासी एक युवाको आरडिटी रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडिटी पोजेटिभ आएका तीन जना र भारतबाट धादिङका युवासँगै आएका रत्ननगर–१२ का अर्का युवाको पनि पिसिआर गरिएको थियो । भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा चारैजनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको रत्ननगर स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

उनीहरुको रत्ननगर–१४ स्थित गुन्जमान अस्पतालमा स्वाब संकलन गरी प्रयोगशाला पठाइएको थियो । रत्ननगर नगरपालिकाले भारतबाट आएका आफ्ना नगरवासीलाई वडागतरुपमा क्वारेन्टाइनमा राखेको छ । आरडिटी र पिसिआर परीक्षण गरी नेगेटिभ आएमा उनीहरुलाई घर पठाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया