काबुल । अफगानिस्तानमा भएको हिंसात्मक घटनामा २४ घण्टा यता ९० जनाको मृत्यु भएको छ । हालका दिनमा तालिबानी विद्रोही समूह र सरकार बिच वार्ता चलिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई भने निरन्तरता दिइरहेका छन् ।
संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले दिइएको जानकारी अनुसार त्यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ९० जना भन्दा बढि व्यक्तिको निधन भएको छ । गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना त्यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएको रिभले बताएको छ । सो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान पनि मारिएका बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबानहरु मारिएका बताइएको छ ।
अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार सो हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् । गएको २४ घण्टा लाई मात्र हेर्ने हो भने अफगानिस्तानका विभिन्न पाँच प्रान्तका आठ स्थानमा हिंसात्मक आक्रमणहरु भएका थिए । अफगानिस्तानका ३४ प्रान्तमध्ये त्यहाँका पाँच प्रान्तमा गएको २४ घन्टामा हिंसात्मक हमलाहरु झन बढेको बताइएको छ । रासस

तपाईको प्रतिक्रिया