काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण बुधबार बेलुकीसम्म विश्वभर २०९ देशका १४ लाख ४७ हजार मानिस बिरामी भएका छन् । जसमा मृत्यु हुनेको संख्या ८३ हजार ९० पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कुल संक्रमितमध्ये १० लाख ५५ हजार २३८ को उपचार जारी छ भने तीन लाख ८ हजार ६५३ जना निको भई घर फिरेका छन् । उपचाररत संक्रमितमध्ये ४७ हजार ८६७ को अवस्था गम्भीर रहेको कोरोनाभाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी संकट संयुक्तराज्य अमेरिकामा उत्पन्न भएको छ । यहाँ चार लाख ५४९ कुल सङ्क्रमित भएका छन् भने १२ हजार ८५७ जनाको मृत्यु भएको छ । अमेरिकामा ३ लाख ६५ हजार ९८१ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा शुक्रबार १३२१, शनिबार १३३१, आइतबार ११६५, सोमबार १२७०, मंगलबार सर्वाधिक १९७० जनाले ज्यान गुमाएका छन् । न्यूयोर्कमा मात्र १ लाख ४२ हजार ३८४ संक्रमित भएकोमा ५४८९ ले ज्यान गुमाएका छन् । सोमबार ५९९ र मंगलबार ७३१ को मृत्यु भएको छ ।

स्पेनमा एक लाख ४६ हजार ६९० कुल सङ्क्रमित भएका छन् भने १४ हजार ५५५ जनाको मृत्यु भएको छ । स्पेनमा बिहीबार ९६१, शुक्रबार ८५०, शनिबार ७४९, आइतबार ६९४, सोमबार ५२८, मंगलबार ७०४ र बुधबार बेलुकीसम्म ५१० जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ३५ हजार ५८६ संक्रमित भएका छन् भने १७ हजार १२७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ७२७, बिहीबार ७६०, शुक्रबार ७६६, शनिबार ६८१, आइतबार ५२५, सोमबार ६३६ र मंगलबार ६०४ को मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ७ हजार ६६३ कुल सङ्क्रमित भएका छन् भने २०१६ को मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ९ हजार ६९ कुल सङ्क्रमित भएका छन् भने १० हजार ३२८ को मृत्यु भएको छ । फ्रान्समा बिहीबार १३५५, शुक्रबार ११२०, शनिबार १०५३ आइतबार ५१८, सोमबार ८३३ र मंगलबार १४१७ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८१ हजार ८०२ कुल सङ्क्रमित भएका छन् भने ३३३३ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार २७९ रहेको छ । चीनमा हाल ११९० जनाको उपचार जारी रहेकोमा २८९ को अवस्था जटिल छ ।

इरानमा ६७ हजार २८६ कुल सङ्क्रमित भएका छन् भने ४००३ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा ५५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने ६१५९ को मृत्यु भएको छ । बेलायतमा बुधबार ५६३, बिहीबार ५६९, शुक्रबार ६८४, शनिबार ७०८, आइतबार ६२१, सोमबार ४३९ र मंगलबार ७८६ जनाले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा २२ हजार ४८८ संक्रमित छन् भने ८४६ जनाको ज्यान गएको छ । बेल्जियममा २२ हजार ४०३ संक्रमित भएकोमा २२४० जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १९ हजार ५८० संक्रमित भएकोमा २१०१ जनाको मृत्यु भएको छ ।

यसैगरी, क्यानडामा ३८१, ब्राजिल ६८८, अस्ट्रियामा २७३, टर्कीमा ७२५, स्वीडेन ५९१, पोर्चुगलमा ३४५, दक्षिण कोरियामा २००, डेनमार्कमा २०३ र जापानमा ९३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ५३५१ संक्रमित भएकोमा १६० जनाको ज्यान गएको छ । पाकिस्तानमा ४०३५ संक्रमित भएकोमा ५७, थाइल्याण्डमा २७, बंगलादेशमा १२ र अफगानिस्तानमा ७ जनाको मृत्यु भएको छ ।

अन्य दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसको सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा हालसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ । एजेन्सीहरुको सहयोगमा

पर्यटन क्षेत्रको रु २५ अर्ब लगानी संकटमा
गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले गरेको रु २५ अर्बको लगानी संकटमा परेको छ । कोभिड–१९ को सम्भावित सङ्क्रमणका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीले लुम्बिनी, बुटवल, तिलोत्तमा र भैरहवामा अहिले सानाठूला करीब ३०० होटल तथा रेष्टुरेन्ट एवं १०० ट्राभल एजेन्सी बन्द छन् । यसले पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएका थिए ।
सम्भावित सङ्क्रमणका कारण नेपाल भ्रमण वर्ष २०२० यसअघि नै सरकारले स्थगन भएको घोषणा गरेको थियो । जिल्लामा २५ तारे होटेल मात्रै छन् । यसमा आश्रित लगभग सात हजार कर्मचारी र उनका परिवारमा पनि दैनिक गुजारा चलाउन समस्या परेको छ ।
तिलोत्तमामा सिल्भर हेरिटेज गु्रपको रु तीन अर्ब लगानी रहेकोे पाँचतारे होटल टाइगर प्यालेस १५ दिन यतादेखि पूर्णरुपमा बन्द छ । होटलमा काम गर्ने सात सय कर्मचारीलाई पनि होटल व्यवस्थापनले अहिले बिदा दिएको छ ।
दैनिक रु ३५ लाखको कारोवार हुने सो होटलमा क्यासिनोसमेत छ । होटेलमा मासिक रु ३५ हजारभन्दा बढी भारतीय पर्यटक आउने बताइएको छ । होटलका सूचना अधिकारी रणधीर यादव होटलमा ठूलो नोक्सानी भएको बताउनुहुन्छ । यहाँबाट आश्रित कर्मचारीको परिवारलाई समेत समस्या परेको छ ।
मणिग्राममा रहेको चारतारे होटल ड्रिम ल्याण्ड गोल्ड रिसोर्ट पनि झन्डै रु एक अर्ब लगानीमा सञ्चालनमा रहेको होटल हो । होटलले पनि आफ्ना २०० कर्मचारीलाई बिदा दिएको छ । होटलका सञ्चालक तथा होटल व्यवसायीको छाता संगठन होटल एशोसियशन अफ नेपाल ९हान०का केन्द्रीय सदस्य गोपाल रानाले होटेल पर्यटनको आधार भएको उल्लेख गर्दै यसले सबैलाई मारमा पारेको छ भन्नुभयो ।
उहाँले नेपाल भ्रमण वर्ष २०२० सफल पार्नका लागि धेरै लगानी खर्च गरेका होटल व्यवसायीलाई अहिलेको महामारीले ठूलो घाटामा पु¥याउने बताउनुभयो ।
बुटवलमा होटल क्लब डेनभो, एभिन्यू, होटल टुलिप जस्ता ठूला होटल अहिले बन्द छन् । भैरहवा क्षेत्रका तारे होटलमध्ये होटल निर्माण, होटल नान्स, होटल मौर्य, होटल रेडसन, होटल यती, होटल ह्वाइट लोटस पनि लकडाउनपछि पूर्ण रुपमा बन्द छन् । लुम्बिनी क्षेत्रमा रहेका होटल पवन प्यालेस, होटल होक्के, होटल कसाई, होटल बुद्धमाया गार्डेनलगायत होटल सबै बन्द रहेको सिद्धार्थ होटल एसोशियसन रुपन्देहीले जनाएको छ ।
पछिल्लो समय रुपन्देहीमा बन्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका कारण पनि नयाँ होटल खुल्ने क्रम जारी छ छ । अहिले विश्वमा आएको कोरोना महामारीले गर्दा भने सबैलाई निराश बनाएकोे सिद्धार्थ होटल एशोसियशन रुपन्देहीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताउनुभयो । “सरकारले होटलमा लगानी रहेको बैंकको मासिक व्याज, बिद्युत र बैंकको मासिक किस्तामा सहुलियत दिनुपर्छ”, श्रेष्ठले माग गर्नुभयो ।
होटेल न्यू इरा बुटवलका सञ्चालक माधव नेपालले बन्दाबन्दीका कारण होटेल व्यवसायीलाई लगानीको ब्याज तिर्न समस्या हुने बताउनुभयो । नेपालको पैदलमार्ग हँुदै धेरै पर्यटक आउने बेलहियासमेत रुपन्देहीमा पर्ने भएकाले यहाँ वार्षिक स्वदेशी र विदेशी गरी २० लाख पर्यटक आउने गरेको सिद्धार्थ होटल एशोसियशनको तथ्याङ्कमा उल्लेख छ ।
बर्दियाको पर्यटन प्रभावित
धम्बोझी– कोरोना भाइरसका कारण प्रदेश नं ५ को प्रमुख पर्यटकीय केन्द्र बर्दियाको पर्यटन क्षेत्र प्रभावित भएको छ । बर्दियामा खुलेका ठूला तथा साना होटल अहिले लकडाउनका कारण सुनसान छन् ।

बर्दिया सदरमुकाम गुलरिया र पर्यटकीय केन्द्र ठाकुरद्वरामा सञ्चालित ठूला सुविधासम्पन्न होटलको कारोवार अहिले शून्यमा झरेको गुनासो पर्यटन व्यवसायीले गरेका छन् । गुलरिया र ठाकुरद्वारा राष्ट्रिय निकुञ्जमा पर्यटकलाई लक्षित होटल सुनसान रहेको होटल व्यवसायी संघ बर्दियाका अध्यक्ष तुलसी तिमिल्सेना बताउनुहुन्छ ।
गुलरियामा विजया गेष्ट हाउस, होटल मिर्मिरे र होटल कृष्णसार तथा ठाकुरद्वारास्थित राष्ट्रिय निकुञ्जका क्षेत्रमा टाइगर टप, बर्दिया टाइगर रिसोर्ट, गैँडा क्याम्प, टाइगर रिसोर्टलगायत दर्जनाँै होटल मर्कामा परेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज भम्रणमा लकडाउनअघि आएका कतिपय विदेशी पर्यटक अन्तरराष्ट्रिय हवाई उडान रोकिएका कारण अलपत्र परेको अध्यक्ष तिमिल्सेना बताउनुहुन्छ । होटल बन्द हुँदा कामदार र कर्मचारीलाई तलव खुवाउन र बैंकको किस्ता तिर्न गाह्रो भएको उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया