काठमाडौं- सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनको भाडा थोरै घटाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृति आएपछि यातायात व्यवस्था विभागले भाडा घटेको जानकारी गराएको हो।त्यस्तै, काठमाडौं उपत्यकामा गाडीको न्यूनतम भाडा १३ रुपैयाँ कायम भएको छ भने अधिकतम २४ रुपैयाँसम्म तिर्नुपर्छ। नयाँ दरअनुसार १६ किलोमिटरभन्दा बढी दूरी यात्रा गर्नेले मात्र घटेको भाडा तिर्छन्। यो दूरी यात्रा गर्नेलाई १ रुपैयाँ भाडा घटेको छ। सोमबारदेखि लागू हुने गरी विभागले कायम गरेको दरअनुसार यात्रुवाहक सवारीको २.५३, मालवाहकको ३.७३ (पहाडमा ३.२८ प्रतिशत) र ट्याक्सीको १.६५ प्रतिशतले भाडा घटेको छ।गत बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यातायात व्यवस्था विभागलाई घटेको इन्धन मूल्यअनुसार सार्वजनिक सवारी साधनको भाडा समायोजन गर्न निर्देशन दिएको थियो। बजारमा इन्धन मूल्य घटे पनि गाडी भाडा नघटेकोले निर्देशन दिनुपरेको कार्यालयले जनाएको थियो।पेट्रोलियम पदार्थको मूल्य घटेपछि वैज्ञानिक पद्धतिबाट नयाँ भाडादर कायम गरेको विभागका निर्देशक मुक्ति केसीले बताए। उनका अनुसार यसपालि भाडा तोक्दा इन्धन मूल्यलाई आधार बनाइएको छ। गाडीभाडा तोक्दा इन्धन बाहेक गाडीको पार्टपुर्जा लगायतको मूल्यलाई पनि आधार मान्ने गरिन्छ। यसमा पार्टपुर्जालाई ६५ र इन्धनलाई ३५ प्रतिशत भार दिएर निर्णय गरिन्छ।अचेल पेट्रोल प्रतिलिटर ९९ रुपैयाँ र डिजेल ७५ रुपैयाँमा पाइन्छ। यसअघि पनि इन्धन मूल्य घटेपछि भदौ २४ गते गाडीभाडा समायोजन गरिएको थियो। त्यो बेला पेट्रोल प्रतिलिटर १०४ र डिजेल ८१ रुपैयाँ थियो।भाडा निर्धारण प्रणाली अनुसार इन्धन मूल्यका आधारमा मात्र घटाउँदा काठमाडौं उपत्यकाको न्यूनतम भाडा १३ रुपैयाँ ७ पैसा भए पनि उपभोक्तासँग १३ रुपैयाँ लिने गरी यातायात व्यवसायीसँग सहमति भएको विभागले जनाएको छ। इन्धन मूल्य ५ रुपैयाँभन्दा बढीले थपघट भए गाडीभाडा समायोजन गरिन्छ।तेल मूल्य कहिले घट्ने?अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर घटेको भन्दै सरकारले तीन दिनअघि नेपाल आयल निगमलाई इन्धन मूल्य घटाउन लिखित निर्देशन दिएको थियो।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले गत बिहीबार नेपाल आयल निगमलाई मूल्य घटाउन निर्देशन दिएको हो। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर निकै तल पुगे पनि नेपालमा त्यसो नभएको भन्दै कार्यालयले यस्तो निर्देशन दिएको हो।सरकारले मूल्य घटाउन दिएको निर्देशन निगमले भने अहिलेसम्म टेरेको छैन। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० डलर हाराहारी आइपुगेको एक महिनाभन्दा बढी भइसके पनि निगमले एकपटक मात्र मूल्य घटाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आपूर्ति मन्त्रालयमार्फत आयल निगमलाई अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य घट्दै गइरहेकोले स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न निर्देशन दिएको हो।नाकाबन्दीका कारण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको भन्दै निगमले करिब ४ महिनापछि माघ पहिलो साता मूल्य घटाएको थियो। तर, गत बुधबार तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि घटेको छ। हाल पेट्रोलको मूल्य ९९, डिजल र मट्टीतेल ७५ रुपैयाँ प्रतिलिटर छ।

तपाईको प्रतिक्रिया