चितवन । बृज सिमेन्ट उद्योगले सामाजिक उत्तरदायित्व बहन गर्दै निर्माणकर्मीको निःशुल्करुपमा दुर्घटना बिमा गर्ने अभियान सुरू गरेको छ । उद्योगले निर्माणमा संलग्न निर्माण व्यवसायी र मिस्त्रीहरुको पाँच लाख रुपैयाँबराबरको बिमा गर्न सुरू गरेको हो ।

बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिका बजार प्रबन्धक सुरेश जैसवालका अनुसार निर्माणकर्मीहरुलाई ‘एक्सपर्टस् म्यासन क्लब’मा आबद्ध गरी बिमासहित अन्य सुविधाहरु उपलब्ध गराउन लागेको हो ।

बिमासँगै बृज सिमेन्टले अन्य विभिन्न सुविधाहरुसमेत उपलब्ध गराउन लागेको जैसवालले जानकारी दिए । उनले भने, ‘मुख्यरुपमा हामी निर्माणकर्मीहरुको बिमा गर्नेछौँ, यससँगै उहाँहरुलाई विभिन्न सुविधाहरुसमेत उद्योगले उपलब्ध गराएको छ ।’

पछिल्लो समय नेपाली बजारमा अग्रणी सिमेन्टको रुपमा चिनिएको बृजले देशभरका तीन हजारभन्दा बढी निर्माणकर्मीहरुको बिमा गर्ने लक्ष्य राखेको कम्पनीका महाप्रबन्धक रविरञ्जन कुमारले बताए । उनका अनुसार भैरहवामा विसं २०५६ सालमा स्थापना भई २०५९ सालबाट नियमित उत्पादन थालेको कम्पनीले हाल दैनिक ४० हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगले निर्माणकर्मीलाई पासबुक उपलब्ध गराएर कात्तिक १ गतेबाट बिमा कार्यक्रम अघि बढाएको हो । यस कार्यक्रमले निर्माणकर्मीहरुलाई सुरक्षा दिने र आकर्षण बढाउने विश्वास गरिएको उत्सव हार्डवेयरका सञ्चालक शिरिष पन्तले बताए ।

यसैबीच, चितवनमा निर्माण क्षेत्रमा क्रियाशील निर्माणकर्मीहरुबीच औपचारिकरुपमा कार्यक्रम शुभारम्भ गरिएको छ । महाप्रबन्धक रविरन्जन कुमारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेल, संघका निवर्तमान अध्यक्ष भीमबहादुर पाण्डे, उद्योगका बजार प्रबन्धक सुरेश जैसवाल, ठेकेदार व्यवसायी संघ चितवनका अध्यक्ष मदन पासवान, कम्पनीका एरिया सेल्स म्यानेजर लक्ष्मीप्रसाद गुप्ता, रञ्जित देवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया