-कविकिरण न्यौपाने
टोक्यो । जापानको पानीजहाजमा सवार हङकङका एक यात्रीलाई कोरोना भाइरस संक्रमित भएपछि जहाजमा रहेका सबै यात्रुहरुलाई जहाजबाट झर्न नदिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जहाजमा ३५ सय यात्रीहरु रहेका छन् । सबैको जहाजमै स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ ।
जापान सरकारका प्रवक्ता योसिहिदे सुगाले पत्रकार सम्मेलनमा डाक्टरलाई जहाजभित्रका यात्रीको उपचारका लागि पठाइएको जानकारी दिए । जहाजभित्रका कति व्यक्ति संक्रमित छन् भनेर परीक्षण गरेपछिमात्रै जहाज खाली गरिने उनले बताए । उनका अनुसार हङकङबाट २५ जनवरीमा जहाजमा सवार भएका ८० वर्षका यात्रीको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना भाइरस पोजिटिभ भेटिएको हो ।
यसैबीच, जापानमा कोरोना भाइरसको त्रास बढेको छ । जापानमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका ३३ घटना सार्वजनिक भइसकेका छन् । अहिलेसम्म ८ विदेशी नागरिकलाई जापान आउनबाट रोकिएको छ । जापानले करिब पाँच सय आफ्ना नागरिकलाई बुहानबाट उपचारका लागि देश फिर्ता बोलाएको छ ।
त्यस्तै जापानमा रहेका एक नेपालीलाई कोरोना भाइसर लागेको आशंकामा विशेष निगरानीमा राखिएको बताइएको छ। जापानको टोक्योमा बस्दै आएका काठमाडौँका २६ वर्षीय युवालाई कोरोना भाइरसको लक्षण देखा परेपछि विशेष निगरानीमा परीक्षणहरु सुरु गरिएको बताइएको छ । उनको नाम भने सार्वजनिक गरिएको छैन ।
जापान सरकारले सार्वजनिक स्थानमा जाँदा माक्स लगाउन र रुघाखोकी, ज्वरो र घाँटीमा समस्या देखिना साथ स्वास्थ परीक्षण गराउन सबैलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया