चीन- कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन ७३ जनाको मृत्यु भएको छ । त्यसमध्ये ६९ जनाको मृत्यु हुबेइ प्रान्तमा भएको हो । चिनिया स्वास्थ्य अधिकारीका अनुसार मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।
बिहीबार रातसम्म थप ३ हजार १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनीहरुलाई विभिन्न अस्पतालमा उपचार गरिँदैछ । चीनमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार १ सय ६१ नाघिसकको छ ।
अहिलेसम्म २५ वटा देशमा कोरोना भाइरस देखिएको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक/एक जनाको ज्यानसमेत गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
चीनमा हजारौँ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अस्पतालमा बिरामी राख्ने बेडको अभाव देखिएको बताइएको छ । गत वर्षको अन्तमा जनावरहरु बेच्ने बजारबाट उत्पत्ति भएको भनिएको कोरोना भाइरस चीनको करिब २४ प्रान्तमा फैलिएको पुष्टि भएको छ ।
बिहीबार एसियाली समुद्रको यात्रामा रहेका दुर्ई पानीजहाजमा हजारौँ व्यक्ति घन्टौँसम्म फसेका थिए । जसमध्ये २० जनालाई कोरोना भाइरसको सङक्रमण देखिएको बताइएको छ ।
यस भाइरसको महामारीको केन्द्रको रुपमा रहेको हुबेइ प्रान्तको उहानले १ हजार ६०० शैयाको अस्पताल निर्माण गरेको छ । यसअघि यसै हप्ताको सुरुमा नै एक हजार शैय्या भएको अस्पताल बनाइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले चीनको हुबेइमा शीघ्र सङ्क्रमण भइरहेको भए पनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटपूट रहेको बताएको छ ।
चीनका अधिकारीले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गरेका र अन्य प्रभावित मुलुकले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानी अपनाएको पाइएको पनि उक्त संगठनले जनाएको छ ।
चीनको हुबेइका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न सफलता मिल्ने अन्तर्राष्ट्रिय समुदायले विश्वास व्यक्त गर्दै आएका छन् । सिन्हवा

तपाईको प्रतिक्रिया