
उहान- कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तमा बुधबार एकै दिनमा १०० बढी व्यक्तिको मृत्यु भएको छ ।
यस भाइरसको कारण चीनभर २ हजार १२ जना सङ्क्रमितको मृत्यु भएको समाचारमा जनाइएको छ । सङ्क्रमितहरुको यो सङ्ख्या चीनको ३९ प्रान्तमा फैलिएको बताइएको छ ।
गत डिसेम्बरबाट सुरु भएको यस कोरोना भाइरसको सङ्क्रमणको कारण हुबेई प्रान्तमा मात्र ५८ हजार ४८५ जनालाई कोरानाभाइरस सङ्क्रमण भएको समाचारमा जनाइएको छ ।
चीनमा फैलिएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट आजसम्म कम्तीमा पनि दुई हजार १४ जनाको ज्यान गएको छ ।
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको यो भाइरसको नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि २६ अर्ब युआन विनियोजन गरेको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।
यस भाइरसको उपचारका क्रममा खटिएका कम्तीमा पनि २ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । यसबाट सङ्क्रमणबाट छ जना स्वास्थ्यकर्मीको उपचारका क्रममा मृत्यु भएको छ ।
समाचारमा जनाइएअनुसार यस भाइरसबाट चीनभरिमा ७५ हजार २१६ नयाँ संक्रमित देखिएका छन् । संक्रमितमध्ये ४६ हजार ४२८ जनाको अवस्था मध्यम, १२ हजार ५७ जनाको अवस्था चिन्ताजनक र १२ हजार ५७ जनाको अन्तिम अवस्थामा रहेको बताइएको छ ।
भाइरसको सुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट ५८ हजार ४८५ भन्दा बढी नागरिक प्रभावित छन् । हालसम्म यस भाइरसबाट संक्रमितमध्ये १४ हजार ७१९ जना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् । सिन्ह्वा/एपी