तेहरान- इरानमा शनिबार थप एक जना कोरोना सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ ।
इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए ।
दक्षिण कोरियामा सङ्क्रमितको सङ्ख्या दोब्बर
दक्षिण कोरियामा एकै दिनमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या दुईगुना भएको अधिकारीहरूले बताएका छन् ।
शुक्रबारसम्म २०४ व्यक्तिमा कोभिड–१९ भनिने उक्त भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप २२९ जनामा भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ । योसँगै कुल ४३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य उपमन्त्री किम गाङ–लिपले कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको टिप्पणी गरेका छन् अधिकांश नयाँ बिरामीहरूको सम्बन्ध एउटा अस्पताल र पूर्वोत्तर सहर डाएगुसँग भएको अधिकारीहरूले बताएका छन् ।
अहिलेसम्म दक्षिण कोरियामा दुई जनाको उक्त रोगका कारण मृत्यु भइसकेको छ । त्यहाँ मृतकको सङ्ख्या बढ्न सक्ने त्रास फैलिएको छ । डाएगु र नजिकै अवस्थित चेओङ्डोलाई ‘विशेष निगरानी क्षेत्र’ घोषणा गरिएको छ ।
यसैबीच, चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस सङ्क्रमणका घटनाले अवस्थालाई थप चिन्तित तुल्याएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले बताएका छन् । उनले कोरोनाभाइरस नियन्त्रण गर्ने अवसर ‘साँघुरिँदै गएको’ चेतावनी दिएका छन् ।
चीनमा अहिलेसम्म ७६ हजार २८८ जनामा सङ्क्रमण पुष्टि भएको र दुई हजार ३४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर २६ देशमा एक हजार २०० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र शनिबारसम्म आठ जनाको मृत्यु भएको छ ।
डब्ल्यूएचओडब्लुएचओद्वारा चासो व्यक्त
कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।
संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर“कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,” टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भने ।
चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ ।
डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताएका छन् । एपी/एएफपी