काठमाडौँ । चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बुधबारसम्म २७७० पुगेको छ । यस्तै, आजसम्म ८१ हजार २७९ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर ४० देशमा करिब १५ सय जनामा सङ्क्रमण पुष्टि भएको र मंगलबारसम्म आठ जनाको मृत्यु भएको छ ।

यस्तै, ३० हजार ३५८ जना उपचारपश्चात् घर फर्किएका छन् । ४८ हजार १५१ जनामा कोरोनाभाइरसको संक्रमण तीव्र छ भने ३९ हजार ३०० जना मध्यम र ३३ हजार १२८ जना सुधारोन्मुख अवस्थामा छन् । संक्रमितमध्ये ८ हजार ८५१ जनाको अवस्था चिन्ताजनक रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

डब्ल्यूएचओडब्लुएचओद्वारा चासो व्यक्त

कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बारम्बार चासो व्यक्त गरेको छ ।

संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको त्रास विश्वव्यापी रुपमा बढेको छ ।

चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार ५५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ ।

दक्षिण कोरियामा सहरी क्षेत्रमा कर्फ्यु

चीनबाट सुरु भएको कोरोना संक्रमणका कारण दक्षिण कोरियाली सहर थेगु प्रभावित भएपछि सरकारले उक्त क्षेत्रबाट संक्रमण रोक्न स्थानीयमाथि विभिन्न रोकावटहरु लगाएको छ । सन् २००९ मा फैलिएको फ्लुमा २६३ जनाको मृत्यु हुँदा कर्फ्यु लगाएयता कोरियामा यो नै कर्फ्युको पहिलो घटना हो ।

सरकारले कोरोना संक्रमणको सामना सजिलै गर्न सकिने बताए पनि अचानक धेरै मानिसहरुमा एक्कासि संक्रमण पाइएपछि सरकारले आपतकालीन बैठक बोलाएर उक्त सहर क्षेत्रमा संकटकाल घोषणा गर्दै कर्फ्यु लगाएको हो ।

सरकारले केही हप्ताका लागि घर बाहिर ननिस्कन, सार्वजनिक स्थलमा भेला नहुन, सार्वजनिक सवारी साधनको प्रयोग धेरै नगर्न, बिहे, मृत्यु, जन्मदिनजस्ता संस्कारमा सहभागी नहुन तथा नगर्न सबै सर्वसाधारणहरुमा अनुरोधसमेत गरेको छ ।

हाल उक्त सहरलाई कोरोना संक्रमणको हाई अलर्ट जोनमा राख्दै उक्त क्षेत्रका मानिसहरुको भीडभाड हुने क्षेत्रहरु जस्तै शैक्षिक संस्था, मेट्रो स्टेशन आदि बन्द गर्नेसमेत सरकारले जनाएको छ । सरकारको सो निर्देशन राष्ट्रपति मुनको निर्देशनमा बसेको आपतकालीन बैठकले गरेको हो । एपी/एएफपी

तपाईको प्रतिक्रिया