नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त हुन र आपसी भाइचारा नभुल्न आह्वान गरेका छन् । केन्द्रीय राजधानी नयाँदिल्लीमा गत आइतबारदेखि भइरहेको प्रदर्शन थप हिंसात्मक हुँदै गएपछि बुधबार उनले शान्त हुन आह्वान गरेका हुन् ।
जतिसक्दो चाँडो अवस्थालाई सामान्य बनाउन पनि उनले आन्दोलनकारी र अन्य सरोकारवालाहरु सबैलाई आग्रह गरेका छन् । नागरिकतासम्बन्धी संशोधित नयाँ व्यवस्थाको पक्ष र विपक्षमा भएको प्रदर्शनका क्रममा २० भन्दा बढीको मृत्यु भइसकेको र १९० भन्दा बढी घाइते भइसकेकाले अवस्थालाई सामान्य बनाउन सबैले भूमिका खेल्नुपर्ने भएको उनको भनाई छ ।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “नयाँ दिल्लीका विभिन्न ठाउँमा भएका हिंसात्मक घटना तत्काल रोक्न आग्रह गर्दछु, अवस्थालाई शान्तिपूर्ण बनाउन सामान्यीकरण गर्न प्रहरी र अन्य सरोकारवालाहरु लागिरहेका छन् ।”
“शान्ति र एकता हाम्रो संस्कृति र परम्परा हो, मैले मेरा दिदीबहिनी र दाजुभाइलाई भाइचारा र शान्ति कायम गर्न आग्रह गर्दछु, हामी सबै तत्काल सम्हालिन अत्यावश्यक छ,” उनले लेखेका छन् ।
यसअघि आजै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले हिंसात्मक अवस्थालाई नियन्त्रणका लागि सेना परिचालन गर्न सिफारिस गरेका थिए ।
पछिल्लो विवरणअनुसार बुधबार बेलुकासम्ममा दिल्लीमा भएको हिंसात्मक घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भइसकेको छ भने अरू १८९ जना घाइते भएका छन् ।
जीटीबी अस्पतालले बुधबारमात्र पाँच जनाको मृत्यु भएको जनाएको छ । अस्पतालमा उपचारका लागि भर्ना भएका घाइतेमा प्रदर्शनकारी र प्रहरी रहेका छन् ।
आन्दोलनको सर्वाधिक प्रभाव परेको नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीले सबै विद्यालय बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ ।
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए ।
प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको छ । यो भीडमा खासगरी जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी, जामिया मिलिया इस्लामियाका सदस्यसमेत रहेका थिए । उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए ।
दिल्ली उच्च अदालतको मंगलबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ तुल्याउन र घाइतेको उपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ ।
मंगलबार राति भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेता र प्रहरी अधिकारीसँग कुराकानी गरेका छन् ।
गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिकता कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दू र मुस्लिम समुदायका व्यक्तिबीच हिंसात्मक झडप सुरु भएको थियो ।
मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ । नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ ।
नयाँ कानुनअनुसार धार्मिक आस्थाका आधारमा बंगलादेश, अफगानिस्तान र पाकिस्तानमा पीडित भइरहेका हिन्दू, सिख, बौद्धमार्गी, जैन, पारसी र इसाई सम्प्रदायका व्यक्तिलाई भारतमा नागरिकता दिइने व्यवस्था गरिएको छ ।
तिनै देशमा पीडित भइरहेका कतिपय अल्पसङ्ख्यक मुस्लिमलाई भने यस्तो सुविधा नदिइएको भारतीय मुस्लिम समुदायको गुनासो छ ।
भारतमा जारी गरिएको नागरिकतासम्बन्धी यो संशोधित कानुन केही समयअगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विवादमा परेको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सो कानुनको विरोध हुदाँहुँदै पनि यसअघिको आन्दोलन मत्थर भइसकेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणको मौका पारेर फेरि सुरु भएको आन्दोलनले अहिले ठूलो हिंसात्मक रुप लिएको हो ।
यो हिंसात्मक आन्दोलनलाई पछिल्लो दशककै सबैभन्दा ठूलो हिंसात्मक आन्दोलनको रुपमा लिइएको छ । एएनआई