मोहिनी रिसाल
काठमाडौँ- वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको संक्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको संक्रमण भएको बताएको छ । सुरूमा चीनमा मात्र सीमित रहेको यो संक्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकोले यस अवस्थालाई विश्व स्वास्थ्य संगठनले नै चिन्तापूर्ण अवस्थाका रुपमा लिएको जनाएको छ ।

कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरुमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरु प्रभावित हुने मात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरुलाई नै उनीहरुले रोकेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरु कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरु गर्न र स्वास्थ्यका कार्यक्रमहरुमा कोरोना रोकथामका कार्यक्रमहरु पनि राख्न उक्त संगठनले सम्बद्ध देशका अधिकारीहरुलाई आग्रह पनि गरेको छ ।

विश्व स्वास्थ्य संगठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको खुलासा गरे । उनले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिए । सोही खतराबमोजिमको कार्यक्रम र कारबाहीलाई अघि सार्न उनले विश्वका सबै देशलाई आग्रह पनि गरे ।

उनले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गरेका थिए । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उनले खुलासा गरेका थिए ।

विश्व स्वास्थ्य संगठनले बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको संक्रमण देखिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले चीनका अतिरिक्त दक्षिण कोरिया, इटाली, इरान र जापानमा यो संक्रमण हजारौँ बिरामी रहेका छन् । साथै उक्त संगठनले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलंकामा पनि यसको खतरा रहेको बताएको थियो । ती देशलाई पनि उच्च जोखिमको व्यवस्थापनमा लाग्न आग्रह गरिएको छ ।
उक्त भाइरसको उत्पत्ति भएको भनिएको मुख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा संक्रमण पुष्टि भएको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ भने चीनबाहेक अन्य मुलुकमा कुल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा संक्रमण पुष्टि भएको छ ।

चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ । दक्षिण कोरियामा थप ५७१ जनामा त गएको २४ घण्टाभित्र संक्रमित भएका छन् । दक्षिण कोरियामा उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ ।

उता इरानमा पनि शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको सरकारी स्रोतले बताएको थियो । यद्यपी स्वास्थ्य अधिकारीहरुले भने शनिबारसम्म २१० जनाको मृत्यु भएको बताएको छ । जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ ।

जापानले आगामी मार्च २ देखि देशैभरिका सार्वजनिक विद्यालयहरु बन्द गर्ने जनाएको छ । प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी रुपमा केही समयका लागि बन्द गर्ने घोषणा गरेका छन् । आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन् । सो कार्यक्रममा सहयोग गर्न जापानका शिक्षामन्त्रीले पनि आग्रह गरेका छन् । उनले विद्यालय बन्द गरिएका कारण घरमा रहने बालबालिकालाई बाहिर निस्किन नदिन र घरैमा बस्न लगाउन अभिभावकहरुलाई आग्रह गर्नुभएको हो ।

जापानले यसैवर्ष ओलिम्पिक खेलकूद प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आयोजनाका लागि आवश्यक पर्ने विभिन्न ओलिम्पिक मसाल रिले आदि कार्यक्रमहरुमा उसले कटौती गरेको जनाएको छ । ती सबै कार्यक्रमहरुमा थोरै मात्र सहभागिता गराइने जापान सरकारले जनाएको छ ।

उता साउदी अरेयिबा सरकारले इस्लाम धर्मालम्बीहरूको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिकस्थलहरुको भ्रमणमा पनि रोक लगाएको जनाएको छ । यस्ता स्थलहरुमा विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको समाचारमा जनाइएको छ । आगामी जुलाइको अन्त्यतिर सुरू हुने हजको तयारी पूर्वका यस्ता भ्रमणहरु रोक लगाइएको जनाइएको छ । साउदी अरेबिया सरकारले नयाँ कोरोना भाइरस फैलिएका देशबाट आउने पर्यटकहरूलाई पनि प्रतिबन्ध लगाएको छ । तर साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको संक्रमण भने देखिएको छैन ।

यता विश्वका देशहरुले यो संक्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरुले यो संक्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यसका बिरामीहरुमा पुनः यसको संक्रमण देखिएको जापान र चीनबाट प्राप्त केही समाचार विवरणहरूमा जनाइएको छ । मानिसहरू निको भइसकेको भनेर घर गएपछि पनि केही सातापछि पुनः संक्रमित भएर अस्पताल आएका उनीहरुको भनाई छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले करिब १४ प्रतिशत बिरामीहरू निको भइसकेपछि पनि फेरि संक्रमणमा परेको पाइएको बताएका हुन् ।

निको भएका भनिएका ती मानिसको शरीरमा भाइरस पूर्ण रुपमा नष्ट नभइसकेको र यससम्बन्धी परीक्षणहरू पनि सधैँ सही नहुने भएकोले पनि संक्रमितहरु लाई फेरि दोहोरिएको अनुमान चिकित्सकहरुले जनाएका छन् । तर पनि घटनाहरूबारे थप जानकारी लिएर अनुसन्धानमा वैज्ञानिकहरू लागेका बताइएको छ । वैज्ञानिकहरु यस प्राणघातक संक्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भएको छैन । उता विश्वका कैयौँ देशमा यसको संक्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ । (रासस)

तपाईको प्रतिक्रिया