लण्डन- कोरोना भाइरसको संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संख्याभन्दा यो छ गुणा बढी भएको बताइएको छ ।
शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोना भाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि कुमबाट निर्वाचित एक सांसद्ले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रवार एउटा संसदीय समितिलाई बताएका थिए ।
इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताएका थिए । इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गरेका थिए ।
हालसम्म विश्वमा ८३ हजारभन्दा बढी कोभिड १९ का सङ्क्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।
शनिबारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ ।
तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोना भाइरस संक्रमितको संख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् । (एएफपी)