वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा ३० दिनका लागि रोक लगाएका छन् ।

टेलिभिजन सम्बोधनमार्फत उनले उक्त घोषणा गरेका हुन् । ब्रिटेनलाई भने यो नियम लागू हुने छैन । उता, इटलीमा कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न किराना र औषधिबाहेक सबै पसलहरू बन्द गर्ने घोषणा गरिएको छ ।

प्रधानमन्त्री जुजेप्पे कोन्टेले बार, रेन्टुरेन्ट, कपाल काट्ने सेलुन र अति आवश्यकीयबाहेक सबै किनमेल केन्द्र बन्द हुने तर सामान घरमै र्पुयाउन भने नरोकिने बताएका छन् । टेलिभिजनमा सम्बोधन गर्दै प्रधानमन्त्री कोन्टेले त्यो प्रतिबन्ध बिहीबारदेखि २५ मार्चसम्म लागू हुने बताएका छन् । नयाँ सङ्क्रमणको दरलाई लिएर कडा तुल्याइएका प्रतिबन्धहरूको परिणाम केही सातामा देखिने उनले विश्वास व्यक्त गरेका छन् ।

इटलीमा स्कुल, व्यायामशाला, सङ्ग्रहालय, रात्रिक्लब र अन्य सार्वजनिक स्थलहरू यसअघि नै बन्द गरिएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण इटालीमा ८२७ जनाले ज्यान गुमाएका छन्, भने १२ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का आपतकालीन प्रमुख मिसेल रियनका अनुसार इटलीमा करिब ९०० जना सङ्क्रमितहरूलाई सघन उपचार कक्षमा भर्ना गरिएको छ । उनले हाल इरान र इटलीको जस्तो संकट छिट्टै अन्य देशहरूले पनि सामना गर्नुपर्ने चेतावनी दिए ।

यसअघि डब्ल्यूएचओले कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी बनेको घोषणा गरेको थियो ।डब्ल्युएचओका प्रमुख टेड्रस एड्हानोम गेहब्रेयससले दुई सातामा चीन बाहिर सङ्क्रमण १३ गुणा बढेको बताएका छन् ।

गत वर्षको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको यस कोरोना भाइरसको कारण विश्वभरी ४ हजार ५०० को मृत्यु भइसकेको छ । यसबाट विश्वभरी १ लाख २९ हजार ६०४ व्यक्ति सङ्क्रमित भएका जनाइएको छ ।

चीनपछि इरान र इटालीमा यस भाइरसको प्रभाव धेरै नै फैलिएपछि यसबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ह्वातै बढेको बताइएको छ । एएफपी

तपाईको प्रतिक्रिया