बेइजिङ- घातक कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बढी प्रभावित बनेको चीनमा सङ्क्रमणको उच्च विन्दु पार भएको बेइजिङले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले भाइरस सङ्क्रमणको समस्या प्रकोपका रूपमा घोषणा गरेको केही घन्टापछि चीनकोे यो भनाइ आएको हो ।

कोभिड–१९ सङ्क्रमणका नयाँ बिरामी आउने क्रम घटिरहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका एक प्रवक्ता मी फङले बेइजिङमा बिहीबार पत्रकार सम्मेलनमा बताएका छन् । उनले भने, “चीनमा महामारीका रूपमा फैलिएको कोभिड–१९ भाइरस सङ्क्रमणको प्रभाव निकै तल झरेको छ ।”

मीले भने, “चीनको मध्य क्षेत्रमा रहेको हुबेई प्रान्तको राजधानी वुहानमा नयाँ सङ्क्रमण पुष्टिका घटना एक अंकमा भरेको छ ।” वुहानमा नयाँ सङ्क्रमणको सङ्ख्या बुधबार आठ व्यक्तिमा सीमित भएको उनले पुष्टि गरे ।

“हुबेईका अन्य सहरमा पनि सङ्क्रमितको सङ्ख्या एक हप्ता यता यही दरमा रहेकोले चीनले कोभिड–१९ विरूद्धको लडाईंमा विजयको नजिक पुगेको अनुमान गर्न सकिन्छ,” उनले भने ।

उनले थपे, “हुबेईबाहिर मुख्यभूमि चीनमा कूल सात नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ तर त्यसमध्ये छ जना विदेशबाट आएका रहेका छन् ।”

चीनको उच्च प्राथमिकता नागरिकको स्वास्थ्य र उपचार रहेकोले अझै केही समय सङ्क्रमण नियन्त्रण अभियानमा निष्क्रियता नआउने अर्थात् नियन्त्रण प्रयासलाई सक्रिय बनाइराख्ने उनको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनले बुधबार कोभिड–१९ सङ्क्रमण विश्वमा फैलिने क्रम बढ्दो रहेकोले यसलाई विश्वव्यापी ‘प्रकोप’ भनेपछि चीनको भने यस्तो धारणा आएको छ ।

बुधबारसम्ममा विश्वभर एक लाख १८ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ भने ११४ मुलुकमा फैलिएको यस भाइरस सङ्क्रमणको समस्याका कारण चार हजार २९१ व्यक्तिले आफ्नो जीवन गुमाएका संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले जेनेभामा गरेको पत्रकार सम्मेलनमा बताए ।

आगामी केही दिन (हप्ता) कोरोना भाइरस सङ्क्रमण, सङ्क्रमणका कारण मृत्यु र प्रभावित मुलुकहरूको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको उनले बताए ।

प्रवक्ता मीले भने, “चीनले हालैका दिनमा विश्वव्यापी सङ्क्रमण विस्तारलाई निजिकबाट नियालेको र सङ्क्रमणको समस्यालाई नियन्त्रण गर्न उनीहरूलाई रोकथाप र नियन्त्रणका लागि प्रोत्साहन गरिरहेको छ ।” सिन्ह्वा

तपाईको प्रतिक्रिया