काठमाडौँ- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उनकी श्रीमतीलाई दुई हप्ते आइसोलेसन वार्डमा राखिएको छ ।

प्रधानमन्त्री ट्रुडोकी श्रीमती सोफीलाई कोरोना भाइरस (कोभिड–१९) भएको पुष्टि भएपछि दुवै जनालाई १४ दिने निगरानीमा राखिएको बीबीसीले जनाएको छ । तर, ट्रुडोमा अहिलेसम्म कुनै सङ्क्रमण नदेखिएकाले उनको कोरोना परीक्षण नहुने बताइएको छ ।

यस्तै, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोको पनि कोरोना परीक्षण गरिएको छ । अमेरिका पुगेर फर्किएका एक जना सहयोगीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उनको पनि परीक्षण गरिएको हो । उनको रिपोर्ट भने आउन बाँकी नै छ ।

यसैगरी, फुटबल क्लब आर्सनलका प्रबन्धक माइकल आर्टेटा र चेल्सीका खेलाडी क्यालुम हडसन ओडोइलाई पनि कोरोना भएको पुष्टि भएको छ । चेल्सीका खेलाडीमा कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका खेलाडीदेखि प्रशिक्षकसम्मलाई १४ दिने निगरानीमा राख्नुपर्ने प्रिमियर लिग क्लबले जनाएको छ ।

यसैबीच, अहिलेसम्म एक सय २७ देशका एक लाख ३४ हजार ७०२ जनामा कोरोनाको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमितमध्ये ७० हजार तीन सय ८१ जना उपचारपछि निको भएका र ५९ हजार तीन सय ४२ जना उपचाररत छन् । कोरोनाका कारण अहिलेसम्म चार हजार ९७९ जनाको ज्यान गइसकेको छ । एजेन्सी

तपाईको प्रतिक्रिया