कोलम्बो- श्रीलंकाको नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि तीन देशका यात्रुलाई प्रतिबन्ध लगाएको छ । प्राधिकरणका अनुसार दक्षिण कोरिया, इरान र इटालीबाट आउने यात्रुलाई श्रीलंका आउन प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै जान थालेपछि अनिश्चितकालका लागि ती देशका यात्रुलाई प्रतिबन्ध लगाएको अधिकारीको भनाइ छ ।

प्राधिकरणको आग्रहअनुसार सूचना विभागले सबै विमान कम्पनीहरुलाई ती देशबाट श्रीलंकामा यात्रु नल्याउन आग्रहसहित सूचित गरेको छ । हालै ती देशको भ्रमण गरेका यात्रुहरुलाई पनि नल्याउनसमेत श्रीलंकाले आग्रह गरेको छ । यो प्रतिबन्ध सुरुमा झण्डै दुई हप्ता लागू हुने अधिकारीहरुले शुक्रबार बताएका छन् ।

श्रीलंकामा शुक्रबारसम्म दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने स्वास्थ्य मन्त्रालयले सङ्क्रमण फैलिन नदिन पर्याप्त तयारी गरिएको जनाएको छ ।

यसैबीच, इरानमा कोरोना भाइरसका कारण थप ८५ जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार योसँगै इरानमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५१४ पुगेको छ ।

उनीहरुले एकै ठाउँमा एकै दिन यति धेरै बिरामीको मृत्यु भएको पनि पहिलोपटक भएको जनाएका छन् ।

इरानमा पछिल्लो एकै दिनमा एक हजार २८९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या ११ हजार ३६४ पुगेको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया