बेइजिङ- चीनमा कोरोना संक्रमितको संख्या ८० हजार ८४४ जना पुगेको छ जसमध्ये ३ हजार १९९ जनाको मृत्यु भएको छ । निकै ठूलो सचेतता अपनाएका कारण ६६ हजार ९११ जना बिरामी निको भएर घर फर्केका छन् ।

चीनले पछिल्लो पटक विदेशी यात्रुहरुलाई नयाँ नियमहरु घोषणा गरेको छ । चीन प्रवेश गर्ने हरेक व्यक्तिलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ ।

करिब ७२४ जनाको मृत्यु भइसकेको इरानमा सार्वजनिक स्थलमा मानिसलाई भेला नहुन आदेश जारी गरिएको छ । इरान अहिले चीन र इटालीपछि सर्वाधिक प्रभावित मुलुक हो ।

बेलायतले स्थानीय चुनावहरू रद्द गरेको छ । बेलायतले पनि अन्य युरोपेली राष्ट्रहरूकै अनुसरण गर्ने र जनसमुदायको जमघटमा प्रतिबन्ध लगाउने संकेत दिएको छ । अर्कोतर्फ, फ्रान्सले आइतबारका लागि तय भएको नगरपालिका चुनाव अगाडि बढ्न अनुमति दिएको छ ।

नेदरल्यान्ड्स सरकारले नयाँ कोरोनाभाइरसको संक्रमणको खतरा औंल्याउँदै देशका सबै स्कुल, बार, रेस्टुरेन्ट, यौनक्लब र क्याफेहरू बन्द गर्ने आदेश दिएको छ ।

धेरै देशहरूले आफ्ना मुलुकमा प्रवेश गर्न विदेशीहरूलाई प्रतिबन्धको घोषणा गरेका छन् । अस्ट्रियाले पाँचभन्दा बढी व्यक्ति भेला हुन आइतबार प्रतिबन्ध लगाएको थियो ।

नर्वेले शनिबारदेखि नै अन्तर्राष्ट्रिय उडानहरू बन्द गर्ने घोषणा गरिसकेको छ । पोर्चुगलले पनि घातक कोरोनाभाइरसको विस्तारलाई सुस्त पार्न १०० भन्दा बढी व्यक्ति भेला नहुन आदेश दिएको छ ।

अष्ट्रेलिया र न्युजील्यान्डले विदेशबाट आउने जोकोहीले दुई हप्ता अलग्गै बस्नु पर्ने जनाएका छन् । अफ्रिकाका आधा दर्जनभन्दा बढी मुलुकमा कोरोनाको संक्रमण देखिएको बताएका छन् ।

“कोरोनाभाइरस हामीमाथि प्रतिबन्ध लगाउने देशमाथि ईश्वरले दिएको दण्डसजाय हो,” जिम्बाब्वेका रक्षामन्त्री ओपाह मुचिनगुरीले बताए । दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले प्रकोप प्रभावित मुलुकबाट आउने मुलुकका नागरिकका लागि देशको सीमाना बुधबारदेखि बन्द गरिएको घोषणा गरेका छन् ।
दक्षिण अमेरिकामा थोरै संख्यामा संक्रमण देखिएको छ, तर कोलम्बियाले भेनेजुएलासँग आफ्नो सीमा बन्द गरेको छ । एएफपी

तपाईको प्रतिक्रिया