काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १६२ देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस कोभिड १९ को संक्रमणबाट मंगलबार बिहानसम्म सात हजार १७४ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अनुसार हालसम्म एक लाख ८२, हजार ७२३ जनामा संक्रमण देखिएकोमा ७९ हजार ८८३ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर ९५ हजार ६६६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये छ हजार १६३ जनाको अवस्था गम्भीर रहेको छ ।

मंगलबार बिहानसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २२६ पुगेको छ भने नयाँ संक्रमितको संख्या २१ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या १३ रहेको छ ।

चीनपछि इटालीमा दुई हजार १५८ जनाको ज्यान गएको छ । इटालीमा २७ हजार ९८० जना संक्रमित भएका छन् । इरान १४ हजार ९९१ जना संक्रमित भएकोमा ८५३ जनाले ज्यान गुमाएका छन् । यस्तै, स्पेनमा नौ हजार ९४२ व्यक्ति संक्रमित छन् भने हालसम्म ३४२ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा आड हजार ८२० जना कोरोनाबाट प्रभावित छन् भने ८१ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा सात हजार २७२ संक्रमित छन् भने १७ जनाको मृत्यु भएको छ । फ्रान्समा छ हजार ६६३ जना प्रभावित रहेकोमा १४८ जनाले ज्यान गुमाएका छन् । यसैगरी, अमेरिकामा चार हजार ७२५ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ९३ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, युकेमा ५५, जापानमा २८, नेदरल्याण्ड्समा २४, स्वीट्जरल्याण्डमा १९ जनाको मृत्यु भएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया