काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १७० देशमा महामारीको रुपमा विस्तार भएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बुधबार राति १० बजेसम्म ८२७२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ८, हजार १८४ जनामा संक्रमण देखिएकोमा ८२ हजार ९०२ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख १७ हजार १० जना संक्रमितको उपचार जारी छ । जसमध्ये छ हजार ४३७ जनाको अवस्था जटिल रहेको छ ।

बुधबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २३७ पुगेको छ भने नयाँ संक्रमितको संख्या १३ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ११ रहेको छ ।

चीनपछि इटालीमा दुई हजार ५०३ जनाको ज्यान गएको छ । इटालीमा ३१ हजार ५०६ जना संक्रमित भएका छन् । इरान १७ हजार ३६१ जना संक्रमित भएकोमा ११३५ जनाले ज्यान गुमाएका छन् । इरानमा बुधबार १४७ जनाले ज्यान गुमाएका थिए । यस्तै, स्पेनमा १३ हजार ९१० व्यक्ति संक्रमित छन् भने हालसम्म ६२३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा बुधबार ९० जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा आठ हजार ४१३ जना कोरोनाबाट प्रभावित छन् भने ८४ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा ११ हजार ३०२ संक्रमित छन् भने २७ जनाको मृत्यु भएको छ । फ्रान्समा सात हजार ७३० जना प्रभावित रहेकोमा १७५ जनाले ज्यान गुमाएका छन् । यसैगरी, अमेरिकामा ७३९८ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ११६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बुधबार ७ जनाको ज्यान गएको थियो ।

यसैगरी, युकेमा ७१, नेदरल्याण्ड्समा ५८, जापानमा २९, स्वीट्जरल्याण्डमा २७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । (एजेन्सीहरुको सहयोगमा ।)

 

तपाईको प्रतिक्रिया