काठमाडौँ- चीनको वुहान सहरबाट फैलिएर विश्वका १७६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट बिहीबार बेलुकी आठ बजेसम्म ९३१० जनाको मृत्यु भएको छ ।

बिहीबार अर्थात् मार्च १९ मा इरानमा १४९, स्पेनमा १२९, नेदरल्याण्डस्मा १८, चीनमा आठ, जर्मनीमा आठ, दक्षिण कोरियामा सात, अमेरिकामा सात र इन्डोनेसियामा छ जनाको मृत्यु भएको हो । बिहीबारमात्रै नयाँ संक्रमितको संख्यामात्रै ८९७३ रहेको छ भने मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख २७ हजार ७६१ जनामा संक्रमण देखिएकोमा ८५ हजार ९८५ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ३२ हजार ४६६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ६९४१ जनाको अवस्था जटिल रहेको छ ।

बिहीबार बेलुकीसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीन हजार २४५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ३४ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ८ रहेको छ ।

चीनपछि इटालीमा २९७८ जनाको ज्यान गएको छ । इटालीमा ३५ हजार ७१३ जना संक्रमित भएका छन् । इरान १८ हजार ४०७ जना संक्रमित भएकोमा १२८४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०४६ छन् । इरानमा बुधबार १४७ र बिहीबार १४९ जनाले ज्यान गुमाएका छन् ।

इरानमा कोरोनाभाइरसको संक्रमणदर उच्च छ । यस्तै, स्पेनमा १७ हजार १४७ व्यक्ति संक्रमित छन् भने हालसम्म ७६७ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै २३७८ पुगेको छ । स्पेनमा बुधबार ९० जना र बिहीबार १२९ जनाले ज्यान गुमाएका छन् । इरानपछि तेस्रो संक्रमणदर उच्च भएको देशमा स्पेन सूचीकृत भएको छ ।

अमेरिकामा बिहीबारसम्म ९४८६ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने १५७ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा बिहीबार सात जनाको ज्यान गएको छ भने २१८ जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा नौ हजार १३४ जना प्रभावित रहेकोमा २६४ जनाले ज्यान गुमाएका छन् । दक्षिण कोरियामा ८५६५ जना कोरोनाबाट प्रभावित छन् भने ९१ जनाको मृत्यु भएको छ । यस्तै, जर्मनीमा १३ हजार ६३२ संक्रमित छन् भने ३३ जनाको मृत्यु भएको छ । जर्मनीमा बिहीबारमात्रै १३०५ नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी, युकेमा २६२६ व्यक्ति संक्रमित भएकोमा १०८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा २४६० संक्रमित भएकोमा ७६ जनाको मृत्यु भएको छ । जसमा बिहीबारमात्रै ४०९ नयाँ संक्रमित थपिएका छन् । स्वीट्जरल्याण्डमा ३९३९ संक्रमित छन् भने ३६ जनाको ज्यान गएको छ ।

बिहीबार ८२४ नयाँ संक्रमित थपिएका छन् । जापानमा ९२३ संक्रमित छन् भने ३२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भाग्यवश नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ ।

[एजेन्सीहरुको सहयोगमा]

तपाईको प्रतिक्रिया