काठमाडौँ । चीनको वुहान सहरबाट फैलिएर विश्वका १८६ देशमा महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणबाट शनिबार रातिसम्म ११ हजार ८९७ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म दुई लाख ८७ हजार ४५८ जनामा संक्रमण देखिएकोमा ९३ हजार ६१७ जना निको भई अस्पतालबाट घर फर्किएका छन् । अझै विश्वभर एक लाख ८१ हजार ९४४ जना संक्रमितको उपचार जारी छ । जसमध्ये ८११७ जनाको अवस्था जटिल रहेको छ ।

शनिबार रातिसम्म चीनमा यो भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३२५५ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४१ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ७ रहेको छ । चीनमा ८१ हजार ८ जना संक्रमित भएका छन् । चीनपछि इटालीमा ४०३२ जनाको ज्यान गएको छ । इटालीमा ४७ हजार २१ जना संक्रमित भएका छन् ।

यस्तै, स्पेनमा २४ हजार ९२६ व्यक्ति संक्रमित छन् भने हालसम्म १३२६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३३५५ पुगेको छ । स्पेनमा शनिबार एकै दिन २३३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा २१ हजार ६५२ संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ । जर्मनीमा शुक्रबारमात्रै ४५२८ नयाँ संक्रमित थपिएका छन् भने शनिबार १८०४ थपिए । नयाँ मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

इरानमा २० हजार ६१० जना संक्रमित भएकोमा १५५६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित ९६६ छन् । इरानमा शनिबार १२३ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा १९ हजार ९५६ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने २७९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा शनिबार २३ जनाको ज्यान गएको छ भने ४८८ जना नयाँ संक्रमित थपिएका छन् ।

फ्रान्समा १२ हजार ६१२ जना प्रभावित रहेकोमा ४५० जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।
दक्षिण कोरियामा ८७९९ जना कोरोनाबाट प्रभावित छन् भने १०२ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित १४७ छन् भने शनिबार थप ८ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा ६१८६ संक्रमित छन् भने ५८ जनाको ज्यान गएको छ । ५७१ नयाँ संक्रमित थपिएका छन् । शनिबार २ जनाको ज्यान गएको छ ।

यसैगरी, युकेमा ४०७२ व्यक्ति संक्रमित भएकोमा १७७ जनाको मृत्यु भएको छ । शनिबार ८९ बिरामी थपिएका छन् । नेदरल्याण्ड्समा ३६३१ संक्रमित भएकोमा १३६ जनाको मृत्यु भएको छ । जसमा शनिबार ३० जनाको मृत्यु भएको छ । ६३७ नयाँ संक्रमित थपिएका छन् ।

बेल्जियममा २८१५ संक्रमित भएकोमा ६७ जनाको मृत्यु भएको छ । जसमा शनिबारमात्रै ३० जनाको ज्यान गएको थियो । यस्तै, जापानमा १००७ संक्रमित छन् भने ३५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । [एजेन्सीहरुको सहयोगमा ।]

तपाईको प्रतिक्रिया