
काठमाडौँ । चीनको वुहान सहर हुँदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस [कोभिड-१९] को संक्रमणबाट आइतबार बिहानसम्म १८८ देशका १३ हजार ५० जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार कोरोनाको संक्रमणबाट ३ लाख ७ हजार ६१० व्यक्ति प्रभावित भएकोमा ९५ हजार ७९५ जना निको भई घर फर्किएका छन् । अझै विश्वभर १ लाख ९८ हजार ७६५ जनाले उपचार गराइरहेका छन् । जसमध्ये ९ हजार ३०० को अवस्था जटिल रहेको छ ।
चीनमा हालसम्म ८१ हजार ५४ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२६१ पुगेको छ भने नयाँ संक्रमितको संख्या ४६ रहेको छ । चीनमा नयाँ मृत्यु हुनेको संख्या ६ रहेको छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ५३ हजार ५७८ जना संक्रमित भएकोमा ४८२५ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६५५७ जना संक्रमित भएका छन् भने ७९३ जनाको मृत्यु भएको छ ।
इटाली पछि अमेरिकामा धेरै जना संक्रमित भएका छन् । अमेरिकामा २६ हजार ६८५ व्यक्ति कोरोनाबाट संक्रमित छन् भने ३४० जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन ८४ जनाको ज्यान गएको छ भने ७३०२ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै, स्पेनमा २५ हजार ४९६ व्यक्ति संक्रमित छन् भने हालसम्म १३७८ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३९२५ पुगेको छ । स्पेनमा एकै दिन २८५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा २२ हजार ३६४ संक्रमित छन् भने ८४ जनाको मृत्यु भएको छ । जर्मनीमा २५१६ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या १६ पुगेको छ ।
इरानमा २० हजार ६१० जना संक्रमित भएकोमा १५५६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित ९६६ छन् । इरानमा शनिबार १२३ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा १४ हजार ४५९ जना प्रभावित रहेकोमा ५६२ जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ११२ पुगेको छ ।
दक्षिण कोरियामा ८८९७ जना कोरोनाबाट प्रभावित छन् भने १०४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित २४५ छन् भने शनिबार थप १० जनाको मृत्यु भएको छ ।
स्वीट्जरल्याण्डमा ६८६३ संक्रमित छन् भने ८० जनाको ज्यान गएको छ । १२४८ नयाँ संक्रमित थपिएका छन् । शनिबार २४ जनाको ज्यान गएको छ ।
यसैगरी, युकेमा ५०१८ व्यक्ति संक्रमित भएकोमा २३३ जनाको मृत्यु भएको छ । १०५३ बिरामी थपिएका छन् । नेदरल्याण्ड्समा ३६३१ संक्रमित भएकोमा १३६ जनाको मृत्यु भएको छ । जसमा शनिबार ३० जनाको मृत्यु भएको छ । ६३७ नयाँ संक्रमित थपिएका छन् ।
बेल्जियममा २८१५ संक्रमित भएकोमा ६७ जनाको मृत्यु भएको छ । जसमा शनिबारमात्रै ३० जनाको ज्यान गएको थियो । यस्तै, जापानमा १०५४ संक्रमित छन् भने ३६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । सोमबारदेखि सार्वजनिक यातायात सेवासमेत बन्द हुँदैछ ।
-एजेन्सीहरुको सहयोगमा ।