
काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण सोमबार बिहानसम्म १९२ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ ।
विश्वभर यस महामारीबाट १४ हजार ६१६ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ३६ हजार ८३८ व्यक्ति प्रभावित भएकोमा ९७ हजार ६३६ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर २ लाख २४ हजार ५८६ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये १० हजार ६४० को अवस्था जटिल रहेको छ ।
चीनमा हालसम्म ८१ हजार ५४ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२६१ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७२ हजार ४४० जना उपचारपश्चात् घर फर्किसकेका छन् ।अब जम्मा संक्रमित ५३५३ जनाको उपचार जारी छ । जसमध्ये १८४५ को अवस्था गम्भीर छ ।
इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ५९ हजार १३८ जना संक्रमित भएकोमा ५४६७ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६५१ जनाको मृत्यु भएको छ । ५५६० जना नयाँ संक्रमित थपिएका छन् ।
इटाली पछि अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च छ । अमेरिकामा ३३ हजार ५४६ व्यक्ति संक्रमित भएकोमा ४१९ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन ११७ जनाको ज्यान गएको छ भने ९३३९ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा २८ हजार ६०३ व्यक्ति संक्रमित छन् भने हालसम्म १७५६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ३१०७ पुगेको छ । स्पेनमा शनिबार २८५ र आइतबार ३७५ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा २८ हजार ८७२ संक्रमित छन् भने ९४ जनाको मृत्यु भएको छ । जर्मनीमा २५०९ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या १० पुगेको छ ।
इरानमा २१ हजार ६३८ जना संक्रमित भएकोमा १६८५ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १०२८ छन् । इरानमा आइतबार १२९ जनाले ज्यान गुमाएका छन् ।
फ्रान्समा १६ हजार १८ जना प्रभावित रहेकोमा ६७४ जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ११२ पुगेको छ । नयाँ संक्रमित १५५९ रहेको छ ।
दक्षिण कोरियामा ८८९७ जना कोरोनाबाट प्रभावित छन् भने १०४ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित २४५ छन् भने शनिबार थप १० जनाको मृत्यु भएको छ ।
स्वीट्जरल्याण्डमा ७४७४ संक्रमित छन् भने ९८ जनाको ज्यान गएको छ । ६११ नयाँ संक्रमित थपिएका छन् । आइतबार १८ जनाको ज्यान गएको छ ।
यसैगरी, युकेमा ५६८३ व्यक्ति संक्रमित भएकोमा २८१ जनाको मृत्यु भएको छ । आइतबार ४८ जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा ४२०४ संक्रमित भएकोमा १७९ जनाको मृत्यु भएको छ ।
अस्ट्रियामा ३५८० संक्रमित भएकोमा १६ जनाको ज्यान गएको छ । बेल्जियममा ३४०१ संक्रमित भएकोमा ७५ जनाको मृत्यु भएको छ । यस्तै, जापानमा १०८६ संक्रमित छन् भने ३६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
भाग्यवश, नेपालमा भने यस महामारीको संक्रमण कसैमा देखिएको छैन । तर, कोरोनाको त्रासले जनजीवन प्रभावित भएको छ । सरकारले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ । आज सोमबारदेखि सार्वजनिक यातायात सेवासमेत बन्द हुँदैछ ।
[एजेन्सीहरुको सहयोगमा ।]