काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण सोमबार रातिसम्म १९४ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ ।

विश्वभर यस महामारीबाट १५ हजार ४९१ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ५८ हजार ८२ व्यक्ति प्रभावित भएकोमा १ लाख ६४५ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर २ लाख ४२ हजार १० जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये ११ हजार ६३२ को अवस्था जटिल रहेको छ ।

चीनमा हालसम्म ८१ हजार ९३ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२७० पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७२ हजार ७०३ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ५१२० जनाको उपचार जारी छ । जसमध्ये १७४९ को अवस्था गम्भीर छ ।

स्पेनमा ३३ हजार ८९ व्यक्ति संक्रमित छन् भने हालसम्म २२०६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ४३२१ पुगेको छ । स्पेनमा सोमबारमात्रै ४३४ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा २७ हजार २८९ संक्रमित छन् भने ११५ जनाको मृत्यु भएको छ । जर्मनीमा २४१६ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

इरानमा २३ हजार ५९ जना संक्रमित भएकोमा १८१२ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १३४७ छन् । इरानमा सोमबार १२७ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा १६ हजार १८ जना प्रभावित रहेकोमा ६८९ जनाले ज्यान गुमाएका छन् । नयाँ मृत्यु हुनेको संख्या ६७४ पुगेको छ । नयाँ संक्रमित १५५९ रहेको छ ।

दक्षिण कोरियामा ८९६१ जना कोरोनाबाट प्रभावित छन् भने १११ जनाको मृत्यु भएको छ । नयाँ संक्रमित ६४ छन् भने सोमबार थप ७ जनाको मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा ८५४७ संक्रमित छन् भने ११८ जनाको ज्यान गएको छ । १०७२ नयाँ संक्रमित थपिएका छन् । सोमबार २० जनाको ज्यान गएको छ ।

यसैगरी, युकेमा ५८३७ व्यक्ति संक्रमित भएकोमा २८९ जनाको मृत्यु भएको छ । सोमबार ८ जनाको ज्यान गएको छ । नेदरल्याण्ड्समा ४७४९ संक्रमित भएकोमा २१३ जनाको मृत्यु भएको छ । सोमबार थप ३४ जनाको मृत्यु भएको छ ।

अस्ट्रियामा ४०१८ संक्रमित भएकोमा २१ जनाको ज्यान गएको छ । बेल्जियममा ३७४३ संक्रमित भएकोमा ८८ जनाको मृत्यु भएको छ । यस्तै, जापानमा ११०१ संक्रमित छन् भने ४१ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा पनि एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । फ्रान्स हुँदै कतारबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि सरकारले मंगलबार बिहान ६ बजेदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने बताइएको छ ।

-एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया