काठमाडौँ । विश्वव्यापीरुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण मंगलबार बेलुकीसम्म १९६ देशमा विस्तार भइसकेको छ । चीनको वुहान सहर हुँदै युरोप र अमेरिकामा यसको प्रकोप उच्च गतिमा बढेको छ । मंगलबार विश्वभर १६ हजार ७२० व्यक्ति संक्रमित भएका छन् भने ७२२ को मृत्यु भएको छ ।

विश्वभर यस महामारीबाट १७ हजार २३४ जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट हालसम्म ३ लाख ९५ हजार ५८३ व्यक्ति प्रभावित भएकोमा १ लाख ३ हजार ७३६ जना निको भई घर फकिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अझै विश्वभर २ लाख ७४ हजार ६१३ जना बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये १२ हजार १८७ को अवस्था जटिल रहेको छ ।

चीनमा हालसम्म ८१ हजार १७१ व्यक्ति यो भाइरसबाट संक्रमित भएकोमा ज्यान गुमाउनेको संख्या ३२७७ पुगेको छ । चीनमा यस महामारी नियन्त्रणतर्फ उन्मुख भएको छ । चीनमा ७३ हजार १५९ जना उपचारपश्चात् घर फर्किसकेका छन् । अब जम्मा संक्रमित ४७३५ जनाको उपचार जारी छ । जसमध्ये १५७३ को अवस्था गम्भीर छ ।

इटालीमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिएको छ । हालसम्म ६३ हजार ९२७ जना संक्रमित भएकोमा ६०७७ जनाको ज्यान गएको छ । इटालीमा एकै दिन ६०१ जनाको मृत्यु भएको छ । ४७८९ जना नयाँ संक्रमित थपिएका छन् ।

इटाली पछि अमेरिकामा कोरोना भाइरसको संक्रमण उच्च छ । अमेरिकामा ४६ हजार १६८ व्यक्ति संक्रमित भएकोमा ५८२ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा एकै दिन २९ जनाको ज्यान गएको छ भने २४३४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्पेनमा ३९ हजार ६७३ व्यक्ति संक्रमित छन् भने हालसम्म २६९६ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमितमात्रै ४५३७ पुगेको छ । स्पेनमा सोमबार ५३९ र मंगलबार ३८५ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, जर्मनीमा ३१ हजार २६० संक्रमित छन् भने १३२ जनाको मृत्यु भएको छ । जर्मनीमा २२०४ नयाँ संक्रमित थपिएका छन् । नयाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

इरानमा २४ हजार ८११ जना संक्रमित भएकोमा १९३४ जनाले ज्यान गुमाएका छन् । नयाँ संक्रमित १७६२ छन् । इरानमा मंगलबार १२२ जनाले ज्यान गुमाएका छन् ।

फ्रान्समा १९ हजार ८५६ जना प्रभावित रहेकोमा ८६० जनाले ज्यान गुमाएका छन् । स्वीट्जरल्याण्डमा ९११७ संक्रमित छन् भने १२२ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ९०३७ जना कोरोनाबाट प्रभावित छन् भने १२० जनाको मृत्यु भएको छ ।

यसैगरी, युकेमा ६६५० व्यक्ति संक्रमित भएकोमा ३३५ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा ५५६० संक्रमित भएकोमा २७६ जनाको मृत्यु भएको छ ।

अस्ट्रियामा ४८७६ संक्रमित भएकोमा २५ जनाको ज्यान गएको छ । बेल्जियममा ४२६९ संक्रमित भएकोमा १२२ जनाको मृत्यु भएको छ । यस्तै, जापानमा ११४० संक्रमित छन् भने ४२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा पनि एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ । फ्रान्स हुँदै कतारबाट नेपाल आएकी १९ वर्षीया युवतीमा संक्रमण देखिएपछि सरकारले मंगलबार बिहान ६ बजेदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । लकडाउनको निर्णयसँगै अब सरकारको निर्देशन अटेर गर्नेलाई एक महिनासम्म कैद सजाय हुने चेतावनीसमेत दिएको छ ।

एजेन्सीहरुको सहयोगमा

तपाईको प्रतिक्रिया