
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को विश्वव्यापी महामारीबाट १९९ देश र आसपासका समुदायलाई समुदाय ग्रसित र त्रसित बनोएको छ । यस महामारीबाट आइतबार बेलुकीसम्म ३१ हजार ७३७ मानिसको ज्यान गइसकेको छ ।
चीनका बुहान सहरबाट उत्पत्ति भएको यस भाइरसको प्रकोपबाट चीनले भने त्राण पाउन थालेको छ । चीनमा यो भाइरस नियन्त्रण उन्मुख भइरहँदा युरोप, अमेरिका, अफ्रिकालगायत एसियाली देशहरुमा पनि यसको संक्रमण फैलिँदो छ ।
यस भाइरसबाट हालसम्म छ लाख ७७ हजार ७०५ संक्रमित भएकोमा १ लाख ४६ हजार ३१९ जना निको भइसकेका छन् । अझै चार लाख ९९ हजार ६४९ मानिसको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना संक्रमितमध्ये विश्वभर २५ हजार ३७७ को अवस्था अटिल छ । गत चौबिसघन्टामा ६६ हजार ६०१ जना नयाँ संक्रमित थपिएका छन् ।
नयाँ अपडेटअनुसार अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा १ लाख २३ हजार ७८१ जना संक्रमित भएका छन्, जसमध्ये २२२९ जनाले ज्यान गुमाएका छन् । एक लाख १८ हजार २१४ जनाको उपचार जारी छ । अमेरिकामा एकै दिन १९ हजार ३०२ संक्रमित थपिएका छन् भने चौबिसघन्टाभित्र ५१५ ले ज्यान गुमाएका छन् ।
इटालीमा पनि कोरोना भाइरसको संक्रमण तीव्र छ । केही दिनको संक्रमणको तीव्रता र मृत्यु हुनेको संख्या हेर्दा यस महामारी नियन्त्रण बाहिर गइसकेको प्रष्ट भएको छ । इटालीमा हालसम्म ९२ हजार ४७२ जना संक्रमित भएकोमा १० हजार २३ जनाको ज्यान गएको छ । इटालीमा शुक्रबार ९१९ र शनिबार ८८९ जनाको मृत्यु भएको छ ।
चीनमा ८१ हजार ४३९ संक्रमित भएकोमा ३३०० जनाले ज्यान गुमाएका छन् । चीनमा ७५ हजार ४४८ जना उपचारपश्चात् घर फर्किएका छन् । हाल २६९१ जनाको उपचार जारी छ । जसमा ७४२ को अवस्था गम्भीर छ ।
स्पेनमा ७८ हजार ७९७ व्यक्ति संक्रमित छन् भने हालसम्म ६५२८ जनाले ज्यान गुमाएका छन् । स्पेनमा शनिबार ८४४ र आइतबार ५४६ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, जर्मनीमा ५८ हजार २४७ संक्रमित छन् भने ४५५ जनाको मृत्यु भएको छ । फ्रान्समा ३७ हजार ५७५ संक्रमित छन् भने २३१४ जनाको मृत्यु भएको छ । एकै दिन ३१९ को ज्यान गएको छ ।
इरानमा ३८ हजार ३०९ जना संक्रमित भएकोमा २६४० जनाले ज्यान गुमाएका छन् । इरानमा एकै दिन १२३ जनाले ज्यान गुमाएका छन् ।
यसैगरी, युकेमा १७ हजार ८९ संक्रमित भएकोमा १०१९ जनाको मृत्यु भएको छ । स्वीट्जरल्याण्डमा १४ हजार ३५२ संक्रमित छन् भने २८२ जनाको ज्यान गएको छ । दक्षिण कोरियामा ९५८३ जना कोरोनाबाट प्रभावित छन् भने १५२ जनाको मृत्यु भएको छ ।
नेदरल्याण्ड्समा ९७६२ संक्रमित भएकोमा ६३९ जनाको मृत्यु भएको छ । अस्ट्रियामा ८२७१ संक्रमित भएकोमा ६८ जनाको ज्यान गएको छ । बेल्जियममा १० हजार ८३६ संक्रमित भएकोमा ४३१ जनाको मृत्यु भएको छ ।
यस्तै, क्यानडामा ६०, पोर्चुगलमा १००, डेनमार्कमा ६५, अस्ट्रेलियामा १४, स्वीडेनमा १०५, ब्राजिलमा ११४ जनाको मृत्यु भएको छ । जापानमा १६९३ संक्रमित छन् भने ५२ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । यस्तै, भारतमा २५ जनाको मृत्यु भएको छ भने ९८७ संक्रमित छन् । पाकिस्तानमा १२, थाइल्याण्डमा ६, बंगलादेश ५, भुटान ३ जनाको मृत्यु भएको छ ।
नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । सरकारले कोरोनाको रोकथामका लागि मंगलबारदेखि एक सातासम्म देशका ७७ वटै जिल्लामा लकडाउन गरेको छ । -एजेन्सीहरुको सहयोगमा