काठमाडौँ । विश्वभरका मानिसलाई शोक, रोग र सन्नाटा मच्चाएको कोरोना भाइरस (कोभिड-१९) को प्रकोपका कारण बिहीबार बिहानसम्म मृत्यु हुनेको संख्या ४७ हजार २२२ पुगेको छ । संसारभर नौ लाख ३६ हजार जना संक्रमित भएकोमा छ लाख ९४ हजार ९९ जनाको उपचार जारी रहेको र ३५ हजार ८७४ को स्थिति जटिल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावित बनेको इटालीमा एक लाख १० हजार ५७४ संक्रमित भएका छन् भने १३ हजार १५५ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबारमात्रै ७२७ जनाको मृत्यु भएको छ । स्पेनमा एक लाख चार हजार ११८ कुल सङ्क्रमित भएका छन् भने ९३८७ को मृत्यु भएको छ । बुधबारमात्रै ५८९ ले ज्यान गुमाएका छन् ।

संयुक्तराज्य अमेरिकामा दुई लाख १५ हजार ८१ कुल सङ्क्रमित भएका छन् भने ५१०९ जनाको मृत्यु भएको छ । अमेरिकामा २ लाख १ हजार ९५ जनाको उपचार जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा ८१ हजार ५५४ कुल सङ्क्रमित भएका छन् भने ३३१२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७६ हजार २३८ रहेको छ । चीनमा हाल २००४ जनाको उपचार जारी रहेकोमा ४६६ को अवस्था जटिल छ ।

यस्तै, फ्रान्समा ५६ हजार ९८९ कुल सङ्क्रमित भएका छन् भने ४०३२ को मृत्यु भएको छ । इरानमा ४७ हजार ५९३ कुल सङ्क्रमित भएका छन् भने ३०३६ व्यक्तिको मृत्यु भएको छ ।

बेलायतमा २९ हजार ४७४ कुल सङ्क्रमित भएका छन् भने २३५२ को मृत्यु भएको छ । बेलायतमा बुधबार एकै दिन ५६३ ले ज्यान गुमाएका छन् । जर्मनीमा ७७ हजार ९८१ कुल सङ्क्रमित भएका छन् भने ९३१ को मृत्यु भएको छ ।

स्वीट्जरल्याण्डमा १७ हजार ७६८ संक्रमित छन् भने ४८८ जनाको ज्यान गएको छ । टर्कीमा १५ हजार ६७९ संक्रमित भएकोमा २७७ को मृत्यु भएको छ । बेल्जियममा १३ हजार ९६४ संक्रमित भएकोमा ८२८ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा १३ हजार ६१४ संक्रमित भएकोमा ११७३ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण कोरियामा १६९, अस्ट्रियामा १४६, क्यानडामा ११४, पोर्चुगलमा १८७, डेनमार्कमा १०४ र जापानमा ५७ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा ५८, पाकिस्तानमा २७, थाइल्याण्डमा १२, बंगलादेशमा ५ र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ । अन्य दक्षिण एसियाली मुलुकमा भने सङ्क्रमण न्यून सङ्ख्यामा देखिएको छ । नेपालमा पनि पाँच व्यक्तिमा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भई घर फर्किएका छन् । [एजेन्सीहरुको सहयोगमा]

तपाईको प्रतिक्रिया