काठमाडौँ । चीनको वुहान सहरबाट उत्पत्ति भई विश्वभरका मानिसलाई त्रास र सन्नाटाको स्थितिमा धकेलेको प्राणघातक कोरोना भाइरस (कोभिड-१९) को प्रकोपबाट बुधबार बिहानसम्म ११० देशका २० लाख मानिस संक्रमित भएका छन् ।

जसमा ४ लाख ८२ हजार ९९४ जना निको भएका छन् भने १३ लाख ८९ हजार ५८७ जना बिरामीको विभिन्न देशका अस्पतालमा उपचार जारी छ । जसमध्ये ५१ हजार ६०३ जनाको स्थिति जटिल छ ।

यस महामारीबाट संसारभर एक लाख २६ हजार ७४१ जनाले ज्यान गुमाइसकेका छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको विश्वसनीय अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वल्र्डोमिटरका अनुसार गत चौबिसघन्टामा ७४ हजार १२ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा २६ हजार ९४५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा डरलाग्दो गरी संक्रमण बढेको छ । बुधबार बिहान १०ः३० बजेसम्म यो समाचार तयार पार्दाको समयसम्म अमेरिकामा कुल छ लाख १४ हजार २११ मानिस सङ्क्रमित भएका छन् भने मृत्यु हुनेको संख्या २६ हजार ६४ पुगेको छ ।

अमेरिकामा हाल ५ लाख ४९ हजार ३२७ जनाको उपचार जारी रहेकोमा १३ हजार ४७३ को अवस्था चिन्ताजनक छ । अमेरिकामा ३८ हजार ८२० जना उपचारपश्चात् निको भई फर्किएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा गत मंगलबार १९७०, बुधबार १९४०, बिहीबार १९०० जनाले ज्यान गुमाएका थिए । यस्तै, शुक्रबार सर्वाधिक २०३५ जनाले ज्यान गुमाएका थिए भने शनिबार १८३०, सोमबार १५३५ र मंगलबार २४०७ जनाको निधन भएको छ । यो संख्या हालसम्मकै उच्च हो ।

जसमध्ये अमेरिकाको न्यूयोर्क सहर सबैभन्दा संकटमा रहेको पाइएको छ । न्यूयोर्कमा मात्रै २ लाख ३ हजार १२३ संक्रमित भएकोमा १० हजार ८३४ ले ज्यान गुमाएका छन् । न्यूयोर्कमा बुधबार ७७९, बिहीबार ७९९, शुक्रबार ७७७, शनिबार ७८३, आइतबार ७५८, सोमबार ६७१ र मंगलबार ७७८ जनाको मृत्यु भएको छ ।

स्पेनमा एक लाख ७४ हजार ६० कुल सङ्क्रमित भएका छन् भने १८ हजार २५५ जनाको मृत्यु भएको छ । स्पेनमा मंगलबार ७०४, बुधबार ७४७, बिहीबार ६५५, शुक्रबार ६३४, शनिबार ५२५, आइतबार ३६६, सोमबार ५४७ र मंगलबार ४९९ जनाले ज्यान गुमाएका छन् ।

यसैगरी, इटालीमा कुल एक लाख ६२ हजार ४४८ जना संक्रमित भएका छन् भने २१ हजार ६७ जनाले ज्यान गुमाएका छन् । जसमा बुधबार ५४२, बिहीबार ६१०, शुक्रबार ५७०, शनिबार ६१९, आइतबार ४३१, सोमबार ५६६ र मंगलबार ६०२ जनाको मृत्यु भएको छ ।

यस्तै, फ्रान्समा एक लाख ४३ हजार ३०३ कुल सङ्क्रमित भएका छन् भने १५ हजार ७२९ को मृत्यु भएको छ । फ्रान्समा मंगलबार १४१७, बुधबार ५४१, बिहीबार १३४१, शुक्रबार ९८७, शनिबार ६३५, सोमबार ५७४ र मंगलबार ७६२ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा १ लाख ३२ हजार २१० कुल सङ्क्रमित भएका छन् भने ३४९५ को मृत्यु भएको छ ।

बेलायतमा ९३ हजार ८७३ कुल सङ्क्रमित भएका छन् भने १२ हजार १०७ को मृत्यु भएको छ । बेलायतमा मंगलबार ७८६, बुधबार ९३८, बिहीबार ८८१, शुक्रबार सर्वाधिक ९८०, शनिबार ९१७, आइतबार ७३७, सोमबार ७१७ र मंगलबार ७७८ जनाले ज्यान गुमाएका छन् ।

चीनमा ८२ हजार २९५ कुल सङ्क्रमित भएका छन् भने ३३४२ को मृत्यु भएको छ । चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ८१६ रहेको छ । चीनमा हाल ११३७ जनाको उपचार जारी रहेकोमा ११३ को अवस्था जटिल छ ।

इरानमा ७४ हजार ८७७ कुल सङ्क्रमित भएका छन् भने ४६८३ व्यक्तिको मृत्यु भएको छ ।

टर्कीमा ६५ हजार १११ संक्रमित रहेकोमा १४०३ को ज्यान गएको छ । बेल्जियममा ३१ हजार ११९ संक्रमित भएकोमा ४१५७ जनाको मृत्यु भएको छ ।

नेदरल्याण्ड्समा २७ हजार ४१९ संक्रमित भएकोमा २९४५ जनाको मृत्यु भएको छ । क्यानडामा २७ हजार ६३ संक्रमित रहेकोमा ९०३ ले ज्यान गुमाएका छन् ।

स्वीट्जरल्याण्डमा २५ हजार ९३६ संक्रमित छन् भने ११७४ जनाको ज्यान गएको छ । ब्राजिलमा २५ हजार ६८४ बिरामी भएकोमा १५५२ को मृत्यु भएको छ ।

यसैगरी, पोर्चुगलमा ५६७, अस्ट्रियामा ३८४, रसिया १७०, इजरायल १२३, दक्षिण कोरियामा २२५, स्वीडेनमा १०३३, आयरल्याण्ड ४९६, जापान १४६ र डेनमार्कमा २९९ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

यस्तै, भारतमा कुल ११ हजार ४८७ संक्रमित भएकोमा ३९३ जनाको ज्यान गएको छ । पाकिस्तानमा ५९८३ संक्रमित भएकोमा १०७, मलेसियामा ४९८७ संक्रमित भएकोमा ८२, थाइल्याण्डमा ४१, बंगलादेशमा ४६, अफगानिस्तानमा २३ र युएईमा २८ जनाको ज्यान गएको छ ।

नेपालमा हालसम्म १६ जनामा कोरोनाको संक्रमण देखिएकोमा एक जना निको भएका छन् । कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख ३ गतेसम्म लकडाउन लागू गरेको छ भने कम्तीमा वैशाख १० गतेसम्म लकडाउन थप गर्ने तयारी गरेको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा ६२९९ जनाको नमुना परीक्षण गरिएकोमा १६ जनामा मात्र कोरोनाभाइरस पुष्टि भएको हो । (एजेन्सीहरुको सहयोगमा)

तपाईको प्रतिक्रिया