काठमाडौँ । कोरोना भाइरसको उत्पत्ति भएको चीनमा पछिल्लो समय नियन्त्रणउन्मुख भइरहेको अवस्थामा शुक्रबार एक्कासि १२९० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।
बिहीबार रातिसम्म चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ३३४२ रहेको विवरण वल्र्डोमिटरले सार्वजनिक गरेको थियो । तर, शुक्रबार एक्कासि मृत्यु हुनेको संख्या बढेर ४६३२ पुगेको हो ।
चिनियाँ सञ्चारमाध्यमहरुले मृतकको संख्या एक्कासि बढ्नुका पछाडि यसअघि कोरोना संक्रमणको उद्गमस्थल वुहानमा घरमै मृत्यु भएकाहरुको संख्या गणनामा छुटेको दाबी गरेका छन् ।
तर, यस तथ्यांकले चीनमा वास्तविक तथ्यांक लुकाएको हुनसक्ने आशंका पनि गरिएको छ ।
कोरोना संक्रमितको सख्या ह्वात्तै बढेपछि अस्पतालहरुले थेग्न नसक्दा सही तथ्यांक सार्वजनिक गर्न छुटेको र हाल अवस्था सामान्य हुँदै गएपछि सो तथ्यांक सार्वजनिक गरेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यो तथ्यांकसँगै वुहान सहरमा कोरोना भाइरसको संक्रमितको संख्या ५० हजार ३३३ पुगेको छ ।
चीनमा कुल ८२ हजार ६९२ कुल सङ्क्रमित भएका छन् भने ४६३२ को मृत्यु भएको छ । शुक्रबार ३५१ नयाँ संक्रमित थपिएका छन् ।
चीनमा उपचारपश्चात् निको भएर घर फर्किनेको सङ्ख्या ७७ हजार ९४४ रहेको छ । चीनमा हाल ११६ जनाको उपचार जारी रहेकोमा ८९ को अवस्था जटिल रहेको छ ।
यस महामारीबाट संसारभर १ लाख ४६ हजार ८९९ जनाले ज्यान गुमाइसकेका छन् । ११० देश र आसपासका क्षेत्रहरुमा संकट उत्पन्न भएको प्राणघातक कोरोना भाइरस को प्रकोपबाट विश्वभर २१ लाख ८४ हजार ७८४ मानिस संक्रमित भएका छन् ।

तपाईको प्रतिक्रिया