न्युयोर्क । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड-१९) कृत्रिम नभएको अर्थात् प्रयोगशालामा नबनाइएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दाबी गरेको छ । यो भाइरस सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट जनावर हुँदै मानिसमा सरेको डब्लुएचओले जनाएको छ । हालसम्म प्राप्त प्रमाणहरुका आधारमा विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना भाइरसको उत्पत्ति जनावरबाटै भएको डब्लुएचओले स्पष्ट पारेको हो ।

यसको उत्पादन प्रयोगशालामा भएको वा जानेरै विस्तार गरिएको भन्ने तर्कहरुमा कुनै सत्यता नरहेको पनि डब्लुएचओले दाबी गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पले गत साता कोरोना भाइरसको उत्पादन चीनको वुहानस्थित प्रयोगशालाबाट उत्पादन भएको हुनसक्ने भन्दै त्यसको सत्यता थाहा पाउने प्रयासमा आफ्नो प्रशासन रहेको बताएका थिए ।

अमेरिकी गुप्तचर र राष्ट्रिय सुरक्षा अधिकारीहरुले अमेरिका सरकार कोरोना भाइरसको फैलावट चिनियाँ प्रयोगशालाबाट भएको विषयमा अनुसन्धान गरिरहेको बताएका थिए ।

राष्ट्रपति ट्रम्पले यसअघि यदि कोरोना भाइरस मानव निर्मित रहेको वा थाहा पाएरै फैलाइएको भए चीनले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका थिए । तर, डब्लुएचओकी प्रवक्ता फाडेला चाइबले मंगलबार जेनेभामा भएको पत्रकार सम्मेलनमा भनेकी छन्, “प्राप्त सबै प्रमाणहरुका अनुसार भाइरसको उत्पति जनावरबाटै भएको हो । यसलाई कुनै प्रयोगशाला वा अन्त कतै बनाएर जानी जानी फैलाइएको होइन ।”

तर, भाइरस कसरी मानवसम्म आइपुग्यो भन्नेबारे भने उनले स्पष्ट पारेकी छैनन् । र, पनि उत्पति भएको जनावरबाट जनावरको अर्को प्रजातिमा सरेपछिमात्रै यस भाइरसको संक्रमण मानिससम्म आइपुगेको हुनसक्नेमा बलियो सम्भावना रहेको उनले बताइन् । मानवसम्म कसरी भाइरस आइपुग्यो भन्नेबारे अझै पनि अनुसन्धान जारी रहेको उनको भनाइ थियो । सिएनएन

तपाईको प्रतिक्रिया