काठमाडौँ । विश्वभर महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण ज्यान गुमाउनको संख्या २ लाख ३ हजार २६९ पुगेको छ ।

आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २९ लाख २० हजार ९०५ पुगेको छ । जसमा ८ लाख ३६ हजार ६८३ व्यक्ति निको भई फर्किएका छन् भने १८ लाख ८० हजार ९५३ जनाको उपचार जारी छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै अमेरिकामा ५४ हजार २५६ को ज्यान गएको छ । गत चौबिसघन्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ । अमेरिकामा कुल ९ लााख ६० हजार ६५१ जना संक्रमित रहेकोमा १ लाख १८ हजार ६६२ जना उपचारपश्चात् निको भएका छन् । हाल ७ लाख ८८ हजार २३३ व्यक्तिको उपचार जारी छ । जसमा १५ हजार ११० को अवस्था जटिल रहेको छ ।

कोरोनाको संक्रमणका कारण दोस्रो प्रभावित मुलुक इटालीमा कुल २६ हजार ३८४ जनाले ज्यान गुमाएका छन् । यस्तै, फ्रान्समा २२ हजार ६१४, स्पेनमा २२ हजार ९०२ तथा बेलायतमा २० हजार ३१९ जनाको मृत्यु भएको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

विश्वभर १८ लाख ८० हजार ९५३ संक्रमितको उपचार जारी छ भने ५७ हजार ८६४ को अवस्था जटिल रहेको बताइएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा १२ जना निको भई घर फर्किएका छन् । नेपालमा कुल ४९ हजार ३३६ जनाको परीक्षण गरिएकोमा ४९ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा २८ जना उदयपुरमा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना आशंका गरिएका ८७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने १४ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । नेपालमा जटिल अवस्थाका कुनै पनि बिरामी छैनन् ।

तपाईको प्रतिक्रिया