जेनेभा । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट दुई लाख १२ हजार ५२२ मानिसको मृत्यु भएको छ । विश्वभर ३० लाख ८५ हजार संक्रमित भएका छन् ।

मंगलबार बेलुकीसम्म संयुक्तराज्य अमेरिकामा अघिल्लो दिनको तुलनामा मृतकको संख्यामा सामान्य कमी आएको एएफपीले जनाएको छ । अमेरिकामा संक्रमितको कुल संख्या १० लाख १ हजार ५०७ पुगे पनि विभिन्न राज्यमा मानिसहरु लकडाउन र सामाजिक दूरीका नियमहरुको बेवास्ता गर्दै घरबाहिर निस्कन थालेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार २४ घन्टाको अवधिमा १ हजार ३९० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ८०३ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २५ हजारको हाराहारीमा पुगेको छ ।

युरोपेली मुलुकहरुमा समेत गएको २४ घन्टामा दुई हजारको हाराहारीमा मात्र कोरोनाका बिरामीको मृत्यु भएको र संक्रमितको संख्यामा तुलनात्मक रुपमा कमी आएको देखिएको भन्दै लकडाउनमा केही खुकुलो पारिएको र कतिपय मुलुकमा विद्यालयहरुसमेत खोल्न थालिएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको वल्र्डोमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख ३४ हजार ४३९ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५६ हजार ८०३ जनाको स्वास्थ्य अवस्था निकै नाजुक अवस्थामा रहेको छ । हाल संक्रमित कुल संक्रमित १९ लाख ३७ हजार ८०१ मध्ये करिब १८ लाख ८१ हजार ४३० अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ९७७ जना, स्पेनमा २३ हजार ८२२ जना, फ्रान्समा २३ हजार २९३, बेलायतमा २१ हजार ९२ जना, बेल्जियममा ७ हजार ३३१ जना, जर्मनीमा ६ हजार १३६ जना, नेदरल्यान्ड्समा ४ हजार ५६६ जना, स्वीडेनमा २ हजार ३५५ जना, स्वीट्जरल्यान्डमा १ हजार ६७७ जना, आयरल्यान्डमा १ हजार १०२, पोर्चुगलमा ९४८ जना तथा रसियामा ८६७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ८७७ जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार ६०३ जना, टर्कीमा २ हजार ९०० जना, क्यानाडामा २ हजार ७०७ जना, मेक्सिकोमा १ हजार ४३४ जना, इन्डोनेसियामा ७७३ जना, इक्वेडरमा ६६३ जनाको मृत्यु भएको छ ।

यसैगरी, दक्षिण एसियाली मुलुकहरुमा भारतमा २९ हजार ४५१ संक्रमित भएकोमा ७ हजार १३७ जना निको भएका छन् भने ९३९ जनाको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा १४ हजार ७९ जना संक्रमित भएकोमा ३ हजार २३३ जना निको भएका छन् भने ३०१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, बंगलादेशमा ५ हजार ९१३ संक्रमित भएकोमा १३१ निको भएका छन् भने १५२ को निधन भएको छ । यस्तै, अफगानिस्तानमा एक हजार ८२८ जना संक्रमित भएकोमा २२८ जना उपचारपश्चात् फर्किएका छन् भने ५८ जनाको मृत्यु भएको छ ।

यस्तै, श्रीलंकामा कुल ५८८ जना बिरामी रहेकोका १२६ निको भई घर फकिएका छन् भने ७ जनाले ज्यान गुमाएका छन् । यस्तै, माल्दिभ्समा २२६ जना संक्रमित भएकोमा १७ जना निको भएका छन् ।

नेपालमा कुल ५४ जना संक्रमितमध्ये १६ जना घर उपचारपश्चात् फर्किएका छन् । यस्तै भुटानमा सात जनालाई संक्रमण देखिएकोमा ५ जना निको भएका छन् । एपी र एएफपीको सहयोगमा

तपाईको प्रतिक्रिया