नयाँ दिल्ली । कोरोना भाइरसको विश्वव्यापी प्रकोप रोकथामका लागि भारतमा लागू भइरहेको लकडाउनको अवधि फेरि पनि दुई साता थप गरिएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले शुक्रबार यही मे ४ देखि गणना हुनेगरी थप दुई हप्ता लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
भारतमा यसअघि घोषणा गरिएको लकडाउनको अवधि यही मे ३ तारिखका दिन सकिने तय भएको थियो । प्रकोप व्यवस्थापन ऐन २००५ अनुसार लकडाउनको अवधि बढाउने निर्णय भएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
सरोकारवाला र विज्ञहरुसँग गरिएको छलफलमा लकडाउन बढाउनुको विकल्प नरहेको सुझाव आएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
लकडाउनको परिणाम अहिलेसम्म सन्तोषजनक देखिएको र लकडाउन अन्त्य गरेमा कोरोना भाइरसको सङ्क्रमण व्यापकरुपमा फैलिन सक्ने अधिकांशको निष्कर्ष रहको बताइएको छ ।
सरकारले लकडाउन लम्ब्याउने निर्णय गरे पनि केही हदसम्म खुकुलो भने बनाएको छ । देशलाई कोरोना भाइरसको सङ्क्रमणको अवस्थाका आधारमा विभिन्न तहमा विभाजन गरेर त्यसैका आधारमा लकडाउनको खुकुलो अवस्थालाई पनि निर्धारण गरिएको अधिकारीहरुको भनाइ छ ।
भारतमा केन्द्रीय सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट अति प्रभावित, कम प्रभावित र प्रभाव नरहेको क्षेत्र भनेर वर्गीकरण गरेको छ ।
निश्चित क्षेत्रमा दैनिक उपभोग्य अत्यावश्यक सेवाका पसलहरु खोल्न दिने, साइकल, रिक्सा, अटोरिक्सा, ट्याक्सीलगायतका साना सवारी साधनहरु चल्न दिनेलगायतका व्यवस्थाहरु पनि लकडाउन लम्ब्याउने निर्णयमा उल्लेख गरिएको छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३५ हजार ४३ भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार १५४ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको सङ्ख्या ७७ रहेको छ । भारतमा हालसम्म निको हुनेको संख्या ९ हजार ६८ पुगेको छ । एएनआई














