काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वभर ७३ जना नेपालीले ज्यान गुमाएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्वास्थ्य समितिद्वारा संकलित विवरणअनुसार सबैभन्दा बढी ज्यान गुमाउने नेपाली बेलायतमा रहेका छन् । बेलायतस्थित ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ सहित कुल ४९ जनाको नेपालीको मृत्यु भएको एन्आरएनएले पुष्टि गरेको छ ।

बेलायतपछि संयुक्त राज्य अमेरिकामा कोभिड १९ बाट १५ नेपालीले ज्यान गुमाएका छन् । जसमा मध्य न्यूयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा एक जनाको मृत्यु भएको खबर सार्वजनिक भएको छ ।

यसैगरी, युएईमा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जिव सापकोटाले जनाएका छन् ।

यसैबीच, कोरोना भाइरसको संक्रमणबाट प्रवासमा कुल ५ हजार २४७ जना नेपाली बिरामी परेका छन् । जसमध्ये १ हजार ५७० जना निको भएका छन् । संयोजक सापकोटाले मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या अझै बढ्दोक्रममा रहेको बताएका छन् ।

उनका अनुसार कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३०० नेपाली कामदारहरुसंक्रमित भएको विवरण सार्वजनिक भएको छ । यस्तै, अमेरिकामा १ हजार ५००, बेलायतमा एक हजार, बहराइनमा १२६, कुवेतमा ७८, साउदी अरेवियामा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्ट्रेलियामा १०, बेल्जियममा ६, जापानमा ६, स्वीडरल्याण्डमा ५, क्यानडामा ५, जर्मनीमा ४, साइप्रसमा ३, मलेसियामा ३, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकङ्गमा २, म्यानमारमा १ र फ्रान्समा १ जना संक्रमित भएको एनआरएनएले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट हालसम्म ५९ जना संक्रमित भएका छन् । जसमा १६ जना निको भएका छन् ।

एनआरएनएको नेपाली विज्ञ चिकित्सकहरुको टोलीले संकलन गरेको विवरणअनुसार कुल २७ देशमा रहेका आप्रवासी नेपालीहरु कोरोना भाइरसबाट प्रताडित भएका छन् ।

तपाईको प्रतिक्रिया