काठमाडौँ । युरोपेली मुलुकमा कोरोना भाइरस (कोभिड-१९) का कारण सबैभन्दा बढी बेलायतका नागरिकको मृत्यु भएको छ । केही दिनअघिसम्म इटाली, स्पेन र फ्रान्सभन्दा कोरोना संक्रमणको प्रभाव कम देखिएको बेलायतमा पछिल्लो समय सबैभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।

इटालीमा कोरोनाको संक्रमणबाट २९ हजार ७९ जनाको ज्यान गुमाउँदा बेलायतमा मृत्यु हुनेको संख्या २८ हजार ७३४ रहेको थियो । तर, पछिल्लो २४ घन्टामा बेलायतमा इटालीलाई उछिन्दै २९ हजार ४२७ जनाको ज्यानले ज्यान गुमाएका छन् । इटालीमा २९ हजार ३१५ को मृत्यु भएको छ ।

पछिल्लो चौबिसघन्टायता बेलायतमा ६९३, इटालीमा २३६, फ्रान्समा ३३० र स्पेनमा १८५ जनाको मृत्यु भएको छ । यस अवधिमा बेलायतमा ४४०६, इटालीमा १०७५, फ्रान्समा १०८९ र स्पेनमा २२६० जना नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा हालसम्म १ लाख ९४ हजार ९९० मा कोरोना संक्रमणको पुष्टि भएको छ भने इटालीमा २ लाख १३ हजार १३, फ्रान्समा १ लाख ७० हजार ५५१ र स्पेनमा २ लाख ५० हजार ५६१ जनामा संक्रमित भएकोमा बेलायतमा १ लाख ६५ हजार २१९, इटालीमा ९८ हजार ४६७, फ्रान्समा ९२ हजार २८४ र स्पेनमा ७० हजार २३० जनाको उपचार जारी रहेको कोरोना भाइरसको विवरण सार्वजनिक गर्दै आएको वल्र्डोमिटरले जनाएको छ ।

अमेरिकामा सबैभन्दा बढी संक्रमित देखिएका छन् । कुल १२ लाख ३७ हजार ६३३ जना संक्रमित रहेको अमेरिकामा बुधबार बिहानसम्म ७२ हजार २७१ जनाको ज्यान गइसकेको छ । अमेरिकापछि मृत्यु हुनेको संख्या बेलायतमा धेरै देखिएको छ । बेलायतमा २९ हजार ४२७ ले ज्यान गुमाइसकेका छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया